उपाधिका लागि एपीएफ र हेल्प नेपाल भिड्ने
९ माघ । काठमाडौं । राजधानीमा जारी पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला–पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ नेपाल एपीएफ क्लब र हेल्प नेपाल स्पोर्ट्स क्लब फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बिहिबार भएको पहिलो सेमिफाइनल खेलमा साविक विजेता त्रिभुवन आर्मी क्लबलाई ३–० को सेटमा पराजित गर्दै एपीएफ फाइनल पुगेको छ ।
राष्ट्रिय टिमका खेलाडीले भरिएको आर्मीमाथि एपीएफले २५–२२, २५–२२ र २६–२४ को सोझो सेटमा जित निकालेको थियो ।
एपीएफसँगको लज्जास्पद हारसँगै आर्मीले अब तेस्रो स्थानको लागि नेपाल पुलिस क्लबसँग खेल्ने भएको छ ।
बिहिबार नै भएको दोस्रो सेमिफाइनलमा हेल्प नेपाल स्पोर्ट्स क्लबले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
तीन भारतीय खेलाडीसहित कोर्ट उत्रिएको हेल्प नेपालले पुलिसमाथि २५–२१, २५–१७ र २५–१५ को सोझो सेटमा जित निकाल्यो ।
शुक्रबार उपाधिको लागि हेल्प नेपाल र विभागीय टोली एपीएफ क्लबबीच खेल हुनेछ ।
त्यस्तै महिलातर्फको उपाधिका लागि साविक विजेता एपीएफ क्लब र न्यू डायमण्ड स्पोर्ट्स क्लब भिड्ने छन् ।
पहिलो सेमिफाइनलमा नेपाल एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई ३–० को सेटमा पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो ।
एपीएफले पुलिसमाथि २५–१५, २५–१६ र २५–२२ को सेटमा जित निकालेको थियो ।
दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबमाथि ३–० को सेटमा जित निकाल्दै न्यू डायमण्डले फाइनलमा एपीएफसँगको भेट पक्का गरेको हो ।
फाइनल पुग्ने क्रममा न्यू डायमण्डले आर्मीमाथि २५–१५, २५–२२ र २५–१३ को सेटमा जित निकाल्यो ।
नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख पुरस्कार पाउने छन् । दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउने छन् ।
महिला र पुरुषको सर्वोकृष्ट खेलाडीले २५÷२५ हजार पाउने छन् । यस्तै उत्कृष्ट स्पाइकर, लिब्रो, सरभर,बल्कर, लिफ्टर र प्रशिक्षकले जनही १०÷१० हजार पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्: