Swornakshar Logo

प्रदेश–५ का प्रमुख विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको निधन

६ माघ । काठमाडौं । प्रदेश–५ प्रदेशसभाका प्रमुख विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ । पोखरेल लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । रुपन्देहीको तिलोत्तमा घर भएका ८२ वर्षीय पोखरेलको सोमबार दिउँसो आफ्नै निवासमा निधन भएको हो ।

पोखरेलको गत वर्ष छातीमा संक्रमण देखिएको थियो । काठमाडौँस्थित नर्भिक हस्टिलमा चेकजाँच गर्दा उनको फोक्सोमा क्यान्सर देखिएको थियो । पछिल्लो समयमा उनलाई घर लगिएको थियो ।

१९९४ साल माघ १९ गते जन्मिएका पोखरेलले २०१३ सालदेखि नेपाल छात्र संघबाट राजनीति सुरू गरेका थिए । सोहि क्रममा उनी २०१८ सालमा २ वर्ष नेपालगञ्जमा जेल परेका थिए ।

रूपन्देहीमा उनी २०२६ सालदेखि २०३६ साल सम्म पार्टीको जिल्ला सचिव भए । प्रदेशसभाकै ज्येष्ठ सदस्यसमेत रहेका पोखरेल जिल्ला सदस्य हुँदै आमन्त्रित केन्द्रीय सदस्य, महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि हुँदै निरन्तर पार्टीमा सक्रिय रहँदै आएका थिए । पोखरेल नेपाली कांग्रेसको समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य बनेका हुन् ।