Swornakshar Logo

सभामुखका लागि भोलि उम्मेदवारी दर्ता, माघ १२ गते निर्वाचनः (कार्यतालिकासहित)

६ माघ । काठमाडौं । आज बसेको प्रतिनिधिसभा बैठकले सभामुख पदको निर्वाचन आगामी माघ १२ गते ३ बजे निर्धारण गरेको संघीय संसद सचिवालयले जनाएको छ । संसद सचिवालय अनुसार माघ ७ गते अर्थात मंगलबार बिहान ११ बजेदेखि २ बजेभित्र सभामुखका लागि उम्मेदवारी दर्ता गर्नुपर्नेछ ।

त्यसका लागि प्रतिनिधि सभाको कुनै सदस्यले अर्को कुनै सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भनि प्रस्तावको सूचना दर्ता गर्नुपर्ने छ ।

निर्धारित समयभित्र दर्ता भएको उम्मेदवारीको सूचनाको दर्ता क्रम अनुसार सोही दिन अर्थात माघ ७ गते २ः३० भित्र सूची प्रकाशन गरिनेछ ।

उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल हुने र दर्ता क्रम अनुसार उम्मेदवारीका प्रसतावकहरुलाई क्रमश निर्णायार्थ प्रस्तुत गरिनेछ । त्यसो गर्दा पहिलो प्रस्तावकले बहुमत प्राप्त गरेमा अर्को उम्मेदवारी प्रस्तुत हुनेछैन । साथै एकजनाको मात्रै प्रस्ताव दर्ता भएमा निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ ।

उपसभामुख शिबमाया तुम्बाहाङ्फेले उपसभामुखको पदबाट राजीनामा दिएपछि सभामुख निर्वाचनको प्रक्रिया अघि बढाउन बाटो खुलेको हो ।

सोमबार बसेको प्रतिनिधिसभाको दोश्रो बैठकको अध्यक्षता गरेका महन्थ ठाकुरले प्रतिनिधिसभा नियमावली २०७५ नियम २११ को उपनियम २ बमोजिम उपसभामुख तुम्बाहाङ्फेले दिएको राजीनामालाई सभा समक्ष पढेर सुनाएका थिए ।

लगत्तै उनले प्रतिनिधिसभा नियमावलीको नियम ७ बमोजिम प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन माघ १२ गतेका लागि निर्धारण गर्दै निर्वाचन कार्यक्रम सार्वजनिक गर्न संघीय संसद सचिवालयका महासचिव प्रसाद भट्टराईलाई निर्देशन दिएका थिए ।