Swornakshar Logo

उपसभामुख तुम्बाहाङ्फेद्वारा राजीनामा

६ माघ । काठमाडौं । उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले एक विज्ञप्ति जारी गर्दै आफुले राजीनामा दिएको घोषणा गरेकी छिन् । तुम्बाहाङ्फेले सोमबार विज्ञप्ति जारी गर्दै राजीनामा दिएको घोषणा गरेकी हुन् ।

विज्ञप्तिमा भनिएको छ , नेपालको संविधानको धारा ९१ को उपधारा (६) को खण्ड (ख) तथा प्रतिनिधिसभा नियमाली, २०७५ को नियम २११ को उपनियम (१) बमोजिम प्रतिनिधिसभाको उपसभामुख पदबाट मैले आजैको मितिदेखि लागू हुने गरी राजीनामा दिएको व्यहोरा अनुरोध गर्दछु ।

संसदको ठूलो पार्टीले सभामुखको उम्मेदवारको टुंगो लगाएकाले आफूले सोमबार राजीनामा दिएको बताइन् । राजीनामा दिन आयोजित पत्रकार सम्मेलनमा उनले संस्थालाई प्रणालीगत रुपमा अगाडि बढाउने सवालमा आफुले बाजी मारेको दाबी पनि उनले गरिन् । उनले भनिन्, बाजी मैले मारेँ । आज देखि कामको ट्रयाक चेन्ज गर्दैछु ।

सभामुखका लागि दाबी गर्नुमा आफुलाई कुनै संस्था वा व्यक्तिको संरक्षण नभएको स्पष्ट पार्दै उनले भनिन्, मेरो ब्याकअपमा कुनै व्यक्ति वा संस्था होइन संविधान थियो । आफुले कसैको दबाबमा राजीनामा नगरेको स्पष्ट पार्दै नेताले भनेको आधारमा होइन संविधानले दिएको अधिकारको आधारमा आफुले राजीनामा गरेको बताइन् ।

आफुले सभामुख पदका लागि दाबी गर्नु अस्वभाविक नभएको बताउँदै उनले भनिन्, सभामुखको उम्मेदवारको दाबी गरेँ । यो स्वभाविक हो । उनले मुलुकमा पितृसंस्था सोच मात्रै नभई संस्थागत रुपमा जरा गाडेर बसेको उल्लेख गरिन् ।