Swornakshar Logo

सुदूरपश्चिम सरकारले पुराना ट्रक खरिद गरी एम्बुलेन्स बनाउँदा साढे ३ करोड अनियमितता

२३ पुस । काठमाडौं । सुदूरपश्चिम सरकारले उत्पादन र बिक्री वितरण समेत बन्द भईसकेको ट्रक खरिद गर्दै एम्बुलेन्स बनाएर वितरण गर्दा झण्डै साढे ३ करोड अनियमितता भएको आरोप लागेको छ । १६ वटा एम्बुलेन्स खरिद गर्दा झण्डै साढे ३ करोड अनियमितता भएको बताइएको छ ।

४०७ र ०३१ – ४ २१२१ मोडेलका टाटाको ट्रक खरिद गर्दा झण्डै साढे ३ करोड अनियमितता भएको आरोप लागेको हो । ती ट्रकको भन्सार शुल्क समेत गरी हालको मूल्य पनि १८ लाख ८५ हजार रुपैया रहेकोमा प्रदेश सरकारले ३९ लाख ७ हजार रुपैयाका खर्च गरेको छ । भन्सार शुल्क समेत गरि १६ एम्बुलेन्स खरिद गर्दा झण्डै ३ करोडमा खरिद गर्न सकिने ६ करोड ३५ लाख २० हजार खर्च गरेको छ ।

यता सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमरान खड्काले भने उत्पादन बर्षको विषयमा जानकारी नभएको बताउँदै ४०७ र ०३१–४ २१२१ मोडेलको एम्बुलेन्स खरिद गरिएको बताए । समाचार स्रोतका अनुसार २०१२ को मोडलका ट्रक खरिद गरिएको हो ।

१६ वटा एम्बुलेन्स पहाडी १६ निर्वाचन क्षेत्रका लागि भनेर ३१ असारमा खरीद गरेको र प्रदेश सरकारले २० कार्तिकमा वितरण गरेको थियो । एम्बुलेन्स १६ निर्वाचन क्षेत्रका लागि भन्दै खरिद गरिएपनि पटक–पटक स्वास्थ्य सस्थाको नाम फेर्दै तराईका अस्पतालमा समेत वितरण गरिएको थियो ।

सामाजिक विकास मन्त्रालयले सेती प्रादेशिक अस्पताल कैलाली र महाकाली अस्पताललाई समेत एक एक थान एम्बुलेन्स हस्तान्तरण गरेको थियो । यस्तै दार्चुलाको दुहु गाउँपालिकामा रहेको हिकिला स्वास्थ्यचौकी, नौगाड गाउँपालिकास्थित खार स्वास्थ्यचौकी, बैतडीको कुलाउ स्वास्थ्यचौकी, रायल प्राथमिक स्वास्थ्य केन्द्र बझाङ र बझाङकै मटेला स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको थियो ।

यस्तै डडेल्धुराको परशुराम नगरपालिकास्थित जोगबुढा अस्पताल, नवदुर्गा गाउँपालिकाको नवदुर्गा स्वास्थ्यचौकी, डोटीको जिल्ला अस्पताल, अछामको बाब्ला स्वास्थ्यचौकी, कमल बजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र, बान्नीगढी स्वास्थ्यचौकी र जिल्ला अस्पताल अछामलाई एकरएक थान एम्बुलेन्स हन्तान्तरण गरिएको थियो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले सुरुमा बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र र टाटे स्वास्थ्य चौकी, दार्चुलाको हिकिला र खार, बैतडीको रुद्रेश्वर र कुलाउ, बझाङको मटेला र रायल, डडेल्धुराको भागेश्वर र नवदुर्गा स्वास्थ्य चौकी, डोटीमा जिल्ला अस्पताल र चवराचौतारा स्वास्थ्य चौकी, अछामको जिल्ला अस्पताल, बाब्ला स्वास्थ्य चौकी, बान्नीगढी र विनायक स्वास्थ्य चौकीलाई एम्बुलेन्स वितरण गर्ने सुची बनाएको थियो ।