Swornakshar Logo

ओढारमा भैंसी पालेर छोरालाई डिग्री पढाउने आमाको कथा

२२ पुस । काठमाडौं । बैतडीको पाटन नगरपालिका वडा नम्बर ७, कैलपालकी केटरी बोहरा आफू निरक्षर छिन, तर छोराहरुलाई स्कूल पढाउन केटरीले २८ वर्षसम्म घनघस्याको जंगलको ओढारमा भैंसी पालेर घिउ बेचेर छोरालाई मास्टरडिग्री पढाईन् ।

निरक्षर केटरीको सानैमा विवाह भयो । उनका श्रीमान रोजगारीका लागि देश विदेश भौतारीए । त्यो बेलाको दुःख सुनाउँदै केटरीले भनिन– घरमा चिठ्ठी लेखिदिने मान्छेसम्म कोही थिएनन् । श्रीमानलाई घरको दुःख र मनको बह पोख्न अक्षर लेखिदिने मान्छे खोज्नु पर्दा त्यसमाथी मान्छे नपाउँदा मन खिन्न हुन्थ्यो र रोजगारीमा जाने गाउँका अन्य मान्छेसित मौखिक खबर पठाउँथे । गाउँको सामान्य गरिब परिवारमा हुर्केकी केटरीले अक्षरको महत्व बुझिन । केटरी आफु निरक्षर भए पनि छोराहरुलाई जसरी पनि स्कुल पढाउने सपनाले उनलाई कैलपालको एउटा ओढारमा पुर्याई दियो।

दिनभरी जङ्गलमा भैंसी चराएर ओढारमै बसेर केटरीले धेरै घिउ बेच्ने र आएको पैंसाले छोरालाई पढाउने सपना बुनिन । सपनाको गाँठो फुकाउँदै केटरीले भनिन, ९ ओढारमा १० वटा भैंसी पाले । त्यो बेला बजारमा दूध बिक्रि गर्ने चलन थिएन । दूधको बजार पनि थिएन । घिउ तताएर टिनका टिन घिउ बेच्ने र आएको पैसाले छोराछोरी पढाउने काम गरे । मेरो सपना पुरा पनि भएको छ । छोरो अहिले शिक्षक बनेको छ । उनै केटरी बोहराले घिउ बेचेर पढाएको जेठोछोरा हरिश बोहरा अहिले मास्टर डिग्री गरेर गाउँकै उच्च माध्यमिक विद्यालयमा पढाउछन् ।

आमाको मेहनतले आफु अहिले एक कुशल शिक्षक बन्न पाउँदा भाग्यमानी ठानेको शेरसिंंह बोहरा बताउछन् । शेरसिंह बोहराले भने, म भन्दा कान्छो भाइ खड्कसिंह बोहराले भर्खरै त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा मास्टरडिग्री सकेर घर आएको छ । मैले नेपालीमा मास्टरडिग्री गरे, भाइले अंग्रेजी विषयमा पढाई पूरा गरेको छ । केटरी बोहराका दुई छोरा र दुई छोरी छन् । छोरीहरुलाई पनि कक्षा ८ सम्म पढाएर पराईघर दिएको पनि एक दशक भईसकेको केटरी बोहरा बताउछिन् ।

त्यो बेला छोरीहरुलाई चाँडै विवाह गरेर दिने चलन थियो । कक्षा ८ मा पढ्दा पढ्दै छोरी लक्ष्मीको विवाह भयो । केटरीको गाउँमा अहिले मास्टरडिग्री गरेका मात्र होईनन, थुप्रै डाक्टर, ईन्जिनियर छन् । त्यो बेला केटरी बोहरा श्रीमानलाई चिठ्ठी लेख्न गाउँ भौतारिनु पर्दथ्यो । केटरी बोहरा गाउँका धेरै मेहनती आमा मध्ये एक उदाहरणी आमा रहेको भतिजा कलम बोहरा बताउँछन् ।

कमल बोहराले भने काकीले अहिलेसम्म त्यो ओढार छोड्नु भएको छैन । अब त आरामा गर्नुस् भन्दा त्यो ओढार सफलताको सिंढी हो भन्छन् । अहिले पनि ओढारमा चार वटा भैंसी पालेर भकारो सोहर्नुहुन्छ । निरक्षर काकीको जोश जाँगरले घर परिवार र छिमेकीका सबैले पढाईको महत्व बुझेको कमल बताउँछन् । राजनीतिमा सक्रिय कमल बोहरा युवा उद्यमी पनि हुन् । बोहरा भन्छन्‘ काकी हाम्रो पनि शिक्षाको प्रेरणाको स्रोत हुन ।

ओढारमा भैंसी पालेर छोरालाई मास्टरडिग्री पढाउनुहुने मेहनती आमाको कथामा भएका स्थानीय रैथाने जातका भैंसी अहिले लोप हुने अवस्थामा पुगेका छन् ।

भैंसीमा देखा परेको खरी रोगले बैतडीमा रहेका ५० हजार भैंसी संकटमा परेको पशु सेवा विज्ञ केन्द्र बैतडीले बताएको छ। भैंसीमा खरी रोग लाग्ने बित्तिकै किसानले भैंसी तस्करलाई सस्तो मूल्यमा मासु प्रयोजनका लागि भैंसी बिक्रि गर्न थालेपछि बैतडीका रैथाने भैंसी संकटमा परेका छन् ।

मेहनती आमाहरुसंगै भैंसी पनि हराउने अवस्थामा पुगेकोले भैंसीपालक किसानलाई सरकारले प्रोत्साहन गर्न भैंसीमा देखा परेको खरी रोगको उपचार हुनुपर्ने भैंसी पालक किसानले बताएका छन् । गोरखापत्रबाट साभार