Swornakshar Logo

अस्ट्रेलिया प्रकरणबारे फेसबुकमा लेखे नियत गम्भीर छः पर्यटनमन्त्री भट्टराई

२२ पुस । काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईको नेतृत्वमा अस्ट्रेलियाको सिड्नीमा आयोजित प्रचारप्रसार र्‍यालीमाथि सिड्नी प्रहरीले रोक लगाएको समाचार गलत भएको दावी गरेका छन् ।

अस्ट्रेलियाको सिड्नीमा आयोजित नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार र्‍यालीमाथि सिड्नी प्रहरीले रोक लगाएको समाचार समाचार सार्वजनिक भएपछि भट्टराईले त्यसमा कुनै सत्यता नरहेको दावी गरेका हुन् । केही मिडियामा भट्टराईको नेतृत्वमा बिनाअनुमति र्‍याली आयोजना भएपछि प्रहरीले रोक लगाएको समाचार आएको थियो । तर, मन्त्री भट्टराईले आफ्नो फेसबुक पेजमार्फत त्यसको खण्डन गरेका हुन् ।

नेपाली राजदूतावास र एनआरएनएको आयोजनामा भएको कार्यक्रम सफल भएको लेख्दै उनले काल्पनिक समाचार सम्प्रेषण गरेर मुलुकको प्रतिष्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा प्रभाव पार्न खोजिएको बताएका छन् ।

तर, नेपाल एवं सिड्नीमा रहेका नेपालीले भने भट्टराईको आलोचना गरेका छन् । अस्ट्रेलिया भीषण आगलागीसँग जुधिरहेको बेला पर्यटन प्रवर्द्धनको कार्यक्रम राखिनु दुःखद भएको उनीहरुको प्रतिक्रिया छ । डढेलोका कारण न्यू साउथ वेल्स राज्यमा अहिले संकटकाल घोषणा गरिएको छ ।

पर्यटनमन्त्री भट्टराईले कार्यक्रम गरेको सिड्नी शहर न्यू साउथ वेल्सको राजधानी हो । अस्ट्रेलियालाई सहानुभूति र सहयोग दिनुपर्ने समयमा आफ्नो देशको सुन्दरताको चर्चा गर्दै घुमघामको निम्तो दिनु उचित होइन धेरैको भनाइ छ ।