Swornakshar Logo

सुर्खेतमा विप्लव समूह र प्रहरीबीच गोली हानाहान

१७ पुस । काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका नेता बज्रबहादुर शाहीलाई पक्राउ गर्न गएको प्रहरी टोली र विप्लव समूहका कार्यकर्ताबीच बुधबार दिउँसो सुर्खेतको पञ्चपुरी नगरपालिका–८ स्थित चेनेरीताल जङ्गलमा दोहोरो फायरिङ भएको छ ।

विप्लव समूहका जिल्ला नेता शाही घरमा आएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बाबियाचौरबाट पेस्तोलसहित दुई जना प्रहरी सादा पोशाकमा खटाइएको थियो उनलाई पक्राउ गर्न जाने क्रममा घरमा नपुग्दै जङ्गलमा विप्लव समूहले प्रहरीमाथि आक्रमणको प्रयास गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दिल्लीराज पन्तले बताए ।

८–१० जनाको सङ्ख्यामा रहेका विप्लवका कार्यकर्ताले प्रहरीलाई देख्न वित्तिकै फायरिङ गरे, हाम्रो तर्फबाट दुई जनामात्रै भएकाले पक्राउ गर्न नसकेको इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रमुख ज्ञानबहादुर खत्रीले भने,“अहिले थप प्रहरी परिचालन गरेर जङ्गल क्षेत्रमा उनीहरुको खोजी भइरहेको छ ।”

हिजोराति सुर्खेतका विभिन्न स्थानमा विप्लव समूहले एनसेल टावरमा बम राखेको थियो ।

भेरीगङ्गा नगरपालिकाको एनसेल टावरमा आगजनी गर्नुका साथै वीरेन्द्रनगर पिपिरास्थित एनसेल टावर नजिक बम राखेको थियो । उक्त बम आज बिहान नेपाली सेनाले निष्क्रिय पारेको थियो खत्रीले भने ।