Swornakshar Logo

काँग्रेसका सांसद द्वारा राप्रपाका नेता माथि निर्घात कुटपिट

७ पुस । काठमाडौं । कपिलवस्तुको कृष्णनगरमा नेपाली काँग्रेसका नेता तथा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य अभिशेकप्रताप शाहले गत निर्वाचनमा राप्रपाबाट उमेदवार रहेका साथै चलचित्रका अभिनेता समेत रहेका श्यामकुमार मिश्रालाई निर्घात कुटपिट गरेका छन् । मरणासन्न हुनेगरी कुटपिटपछि सांसद शाहका ड्राइभरले उनलाइ गाडीमा राखेर कृष्णनगर बजारको सडकमा ल्याएर छाडेका थिए ।

नेता शाहले आफ्नै घरमा बोलाएर कोठाभित्र थुनेर शाह र ड्राइभर कस्यपले निर्घात कुटपिट गरेको पीडित पक्षका आफन्तले बताएका छन् । स्थानीयले घाइते मिश्रको उद्दार गरी बहादुरगञ्ज पठाएको र उनको अवस्था गम्भीर देखेपछि बुटवल रिफर गरिएको बताइएको छ । मिश्राको नाक र मुखबाट रगत बगेको र उपचार भइरहेको कपिलवस्तुका प्रहरी उपरीक्षक दिपशम्शेर जबराले बताए ।

प्रहरी उपरीक्षक जबराका अनुसार मिश्रालाई सांसद शाह र उनका ड्राइभरले कुटपिट गरेको भन्ने जानकारी प्रहरीमा आएको तर कतैबाट उजुरी नपरेको जबराले बताए ।

शाहका ड्राइभर फरार रहेकाले पक्राउ गर्न नसकिएको एसपी जबराले बताए । कृष्णनगरमा रहेका सांसद शाहको घरमै पुुगेका मिश्र र सांसद शाहबीच केहिबेर गाली गलौज समेत चलेको परिवारिक स्रोतले बताएको छ ।

सांसद शाहले भने हिँजो साँझ आफ्नो ड्राइभर र उनीबीच कुट्पिट भएको तर आफुले न कुटेको भन्दै विज्ञप्ति निकालेका छन् । आफुसँग भनाभन मात्रै भएको बताएका छन् ।