Swornakshar Logo

एमसीसी इन्डो प्यासिफिकको अंग हो भने अनुमोदन हुँदैनः प्रचण्ड

४ पुस । काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकासँग भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता इन्डो प्यासिफिक स्टाट्रेजीको अंग भए अनुमोदन नगर्ने बताएका छन्।

शुक्रबार नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमसीसी इन्डो प्यासिफिकको अंग नभएको पुष्टि भए मात्रै त्यसलाई अनुमोदन गर्ने बताएका हुन्।

नेकपा स्थायी समिति बैठकमा एमसीसी सम्झौतालाई लिएर अनुमोदन गर्नुुपर्ने र अनुमोदन गर्न नहुने धारणा आएपछि बसेको संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डले एमसीसीका बारेमा सरकारले अमेरिकी अधिकारीहरुसँग बुझ्ने बताएका हुन।

‘एमसीसी अमेरिकाको इन्डो प्यासेफिक स्टाट्रेजीको अंग होइन र अमेरिका सैन्य गठबन्धनसँग सम्बन्ध छैन भने मात्रै स्थायी समितिको बैठकले संसदबाट अनुमोदन गर्न सरकारलाई सुझाव दिन्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक सांसदले भने, ‘होइन भने यसलाई अनुमोदन गराउन सुझाब दिँदैन।’

नेकपाको जारी स्थायी समितिको बैठकमा नेताहरुले एमसीसी अमेरिकाका इन्डो प्यासेफिक स्टाट्रेजीको अंग भएको भन्दै त्यसलाई संसदबाट अनुमोदन गर्न नहुने धारणा राखेका थिए। नेकपाभित्रको अन्यौलको कारण संसद दर्ता गरिएको सम्झौता अनुमोदन हुन सकेको छैन।

तर, पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नै एमसीसी अनुमोदन हुने बताएका थिए। स्थायी समितिका सदस्य समेत रहेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले एमसीसी र इन्डो प्यासेफिक रणनीति एकै नभएको जिकिर गरेका थिए।

नेकपा बैठकमा भीम रावल, लिलामणि पोखरेल, देव गुरुङसहितका स्थायी समिति सदस्यहरुले अमेरिकी सैन्य गठबन्धनको अंग भएको भन्दै त्यसको अनुमोदन गर्न नहुने धारणा राखेका थिए।