Swornakshar Logo

दुर्घटना न्यूनीकरण गर्न मुख्यमन्त्री पौडेलको यस्तो निर्देशन

३० मंसीर । हेटौंडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सवारी दुर्घटना बढेको भन्दै सरोकारवाला सरकारी कार्यालयका प्रतिनिधिहरुसँग छलफल गरेका छन् । मुख्यमन्त्री पौडेलले छलफलका क्रममा दुर्घटना न्यूनीकरणका लागि अधिकतम प्रयास गर्न निर्देशन दिएका छन् ।

मुख्यमन्त्री पौडेलले सवारी दुर्घटना न्यूनीकरण गर्न सबै निकायको ठूलो प्रयास हुनुपर्नेमा जोड दिए । छ्लफलमा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले सवारी दुर्घटनाको कारण खोजेर अगाडि बढ्नुपर्ने बताए ।

हेटौंडा उपमहानगरपालीकाका मेयर हरिबहादुर महतले नगरमा पार्किङ व्यवस्थापनका लागि उपमहानगर सहकार्य गर्न तयार रहेको बताए । त्यस्तै कार्यक्रममा प्रदेश सभा सदस्य दीपक निरौला सवारी साधन दुर्घटनामा धेरै कारकतत्व हुने भएको भन्दै यसलाई सुधारका साथ अगाडि बढ्ने बताए ।

दुर्घटना तथा सवारी दुर्घटनामा तीन पाङ्ग्रे सवारी तथा पार्किङ् ब्यबस्थापन, पुराना सवारी साधन ब्यबस्थापन, रुट परमिट लगायत अन्य बिषयमा छलफल भएको थियो । प्रदेशमा यो महिनामा हाल ५६ जनाको मृत्यु भएको थियो ।

३ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार सबैभन्दा बढी चितवनमा र क्रमशः सिन्धुपाल्चोक, धादिङ, मकवानपुरमा बढि सवारी दुर्घटनामा भएको छ । छलफलमा सावरी दुर्घटना न्यूनीकरण र ब्यबस्थापन चुस्त बनाउन ५ सदस्यीय समिति पनि गठन गरिएको छ ।

भौतिक पुर्वाधार मन्त्रालयका यातायात व्यवस्था निर्देशक सहदेब भण्डारीको संयोजकत्वमा हेटौंडा उपमहानगर, प्रहरी कार्यालय, यातायात कार्यालयहरुको प्रतिनिधिहरु रहने गरी समिति निर्माण गरिएको हो । समितिलाई सात दिन लागू गर्न सक्ने प्रतिबेदन तयार गर्न मुख्यमन्त्री पौडेलले निर्देशन दिएका छन् ।

कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यलयका सचीव मधुसूदन बुर्लाकोटी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण भट्ट, ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख डिआईजी शेरबहादुर बस्नेत, ३ नम्बर प्रदेश ट्राफिक प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेत, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंह, यातायात पुर्वाधार कार्यालयका शाखा प्रमुख ध्रुब फुयाल लगायत सहभगी थिए ।