Swornakshar Logo

शक्तिशाली बम विस्फोट हुँदा प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु

२८ मंसिर । काठमाडौं । धनुषाको महेन्द्रनगरमा मध्यरातमा शक्तिशाली बम बिस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् । शुक्रबार मध्यराति बम बिस्फोट हुदा स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा २४ वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले बताएको छ ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ स्थित महेन्द्रनगरमा इलाका प्रहरी कार्यालय भन्दा करिब ४ सय मिटर दुरिमा बम बिस्फोट हुँदा घाइते भएका प्रहरी निरीक्षक अमिर दाहालको पनि उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको छ । शुक्रबार राति १२ बजे राजेश्वरको घरको शौचालय नजिक छाडिएको बम विस्फोट भएको हो । बम हो वा होइन भनी इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट प्रहरी टोली पुग्नेबित्तिकै विस्फोट भएको हो ।

विस्फोटमा परी प्रहरी जवान रिजन महतो, मृतक घरमुली राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली गम्भीर घाइते भएका छन् । अन्य तीन जनाको धरानमै उपचार भइरहेको छ । घटनामा अन्य २ जना सामान्य घाइते भएको बताइएको छ ।

साह ठूलो रकम ऋण लगानी गर्ने साहु भएका कारण कसैले उनीहरूको हत्या गर्नकै लागि राखेको बम विस्फोट भएको हुन सक्ने स्थानीयको अनुमान छ ।