Swornakshar Logo

राष्ट्रियसभाको निर्वाचन माघ ९ गते गर्ने सरकारको निर्णय

२६ मंसिर । काठमाडौं । सरकारले राष्ट्रियसभा निर्वाचनको मिति तय गरेको छ । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चारप्रविधि मन्त्री गोकुल बाँस्कोटाले माघ ९ गतेका लागि राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय भएको बताए । उनान्नसाठी सदस्यीय राष्ट्रियसभाका सदस्यमध्ये १८ जना सदस्यको आगामी फागुन २० गतेदेखि पद रिक्त हुँदैछ । रिक्त सदस्यको पदपूर्ति गर्नका निम्ति सरकारले मिति घोषणा गरेको हो ।

प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन सम्पन्न गरेसँगै निर्वाचन आयोग राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा लागिपरेको छ। राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने संवैधानिक व्यवस्था छ । सोअनुसार सरिता प्रसाई, सुरेन्द्रराज पाण्डे, हरिचरण सिवाकोटी, रामप्रित पासवान, विन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपालीको पदावधि फागुन २० गते सकिँदै छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भइ अर्थमन्त्रीसमेत रहेका राष्ट्रियसभा सदस्य डा युवराज खतिवडाको स्थानमा रिक्त हुने पदमा भने राष्ट्रपतिबाट मनोनीत हुनेछ । फागुन २० गते दुई वर्षे कार्यकाल पूरा गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नौ, नेपाली काँग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एक जना रहेका छन् । गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्य राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनका मतदाता हुन् ।

यो निर्वाचनमा पहिलो हुने निर्वाचन प्रणालीबाटै उम्मेदवारको चयन हुनेछन् । यो निर्वाचन प्रत्येक प्रदेशमै हुने र तत् प्रदेशबाट राष्ट्रियसभा सदस्यको चयन हुनेछ । राष्ट्रियसभाको आगामी निर्वाचनबाट महिला सात, दलित दुई, अल्पसङ्ख्यक दुई र अन्य सात जना निर्वाचित हुनेछन् ।