Swornakshar Logo

नेपाल लगातार दोस्रोपटक च्याम्पियन, भुटान २–१ले पराजित

नेपाल सन् १९८४, १९९३, २०१६ र सन् २०१९ गरी चारपटक च्याम्पियन बनेको छ

२४ मंसिर । काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकूद (साग) को पुरुषतर्फको फुटबल फाइनलमा नेपालले भुटानलाई २–१ ले पराजित गरेको छ। मंगलबार दशरथ रंगशालामा सम्पन्न भएको खेलमा नेपालले सुरुवाती अग्रता लियो ।

मंगलबार त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले भुटानलाई २–१गोलले पराजित गर्दै लगातार दोस्रोपटक स्वर्ण जितेको हो । नेपाल फुटबलमा सन् १९८४, १९९३, २०१६ र सन् २०१९ गरी चारपटक च्याम्पियन बनेको छ ।

नेपालका लागि पहिलो गोल खेलको १६ औं मिनेटमा अभिषेक रिजालले गरेका थिए ।

भुटानले खेलको ३८ औं मिनेटमा जवाफी गोल फर्काएको थियो । भुटानका लागि कप्तान चेम्चो ग्याल्चेनले गोल फर्काएका थिए ।

खेलको ५४ औं मिनेटमा नेपालका लागि सुनिल बलले गोल गरे ।

सागको यही संस्करणको पहिलो खेलमा नेपालले भुटानलाई ४–० गोलले पराजित गरेको थियो ।

नेपाल १२ औं सागको स्वर्ण विजेता हो । नेपालले १२ औं सागमा भारतको भूमिमा भारतलाई नै पराजित गर्दै स्वर्ण जितेको थियो । त्यसैगरी पहिलो सागमा नेपालले बंगलादेशलाई ४–२ गोलले पराजित गर्दै च्याम्पियन बनेको थियो भने सन् १९९३ मा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा हराएको थियो ।

भारत यस संस्करणको फुटबलमा सहभागी छैन ।