Swornakshar Logo

हेटौंडा उपमहानगरका नेकपाः वडाध्यक्ष र सचिवले लिए सपथ

२३ मंसीर । हेटौंडा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का हेटौंडा उपमहानगरपालिका अन्तर्गत वडाध्यक्ष र सचिवले आज सपथग्रहण गरेका छन् ।
नेकपा मकवानपुर सहइन्चार्ज कुमारी मोक्तान र अध्यक्ष मुनु सिग्देल र सचिव प्रेमबहादर पुलामीको उपस्थितिमा अध्यक्ष र सचिवले शपथग्रहरण गरेका हुन ।

नेकपा हेटौंडा उपमहानगरपालिका अध्यक्ष रघु आचार्यको सभाध्यक्षतामा भएको सपथ ग्रहण कार्यक्रममा जिल्लाका नेताहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रममा बोल्दै नेकपा मकवानपुरकी सहइञ्चार्ज कुमारी मोक्तानले कम्युनिष्ट पार्टीका कार्यकर्ताले समाजमा भएको कुरिती हटाउन पहल गर्नुपर्ने धारणा राखिन् । उनले भनिन्, ‘कम्युनिष्ट हुँ भन्ने तर घर छिमेकमा त्यही हिंसा र विभेद गर्न थाल्यौं भने हाम्रो के अर्थ हुन्छ ?’

सरकारमा जाँदैमा वा भौतिक विकास गर्दैमा सामाजिक रुपान्तरण नहुने भन्दै उनले कस्तो संस्कार हामीले बसाल्ने हो त्यही नै महत्वपूर्ण हुने धारणा राखिन् । कम्युनिष्ट कार्यकर्ता वा कम्युनिष्ट पार्टीको सदस्यले सँधै गलत चिजको बिरुद्ध लाग्नुपर्नेमा सहइञ्चार्ज मोक्तानले जोड दिइन् ।

कार्यक्रममा बोल्दै नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले कम्युनिष्ट पार्टीको सदस्य भएर समाजमा हिंसा र विभेद गर्छ भने ्रत्यस्तालाई कारवाहि गर्न सक्नु पर्ने बताइन् । पार्टी एकतापूर्वको प्रसंग निकाल्दै उनले भनिन् ‘यताबाट र उताबाट भन्ने चिजको अब यहीँ अन्त्य हुुनुपर्छ’ अब पनि यही भनेर बस्ने हो भने पार्टी नरहने र गुट मात्र बाँकी रहने अध्यक्ष सिग्देलको भनाई थियो ।
कार्यक्रममा बोल्दै नेकपा मकवानपुरका सचिव प्रेमबहादुर पुलामीले संगठनलाई एकताबद्ध गरी अगाडी बढ्न नगरका अध्यक्ष तथा सचिवहरुलाई निर्देशन दिए । ‘भागवण्डाको अभ्यास यहीँसम्म हो, अब बिर्सनु पर्छ’, उनले भने ।

प्रत्येक वडामा १०÷१५ दिनभित्र वडा कमिटी निर्माण गरिसक्न पार्टीले सर्कुलर गरेको विषयमा पनि नेताहरुले वडाध्यक्ष र सचिवहरुलाई स्मरण गराएका थिए । सपथ ग्रहण कार्यक्रममा पार्टीका जिल्ला नेताहरु, नगर कमिटीका सदस्य तथा वडाध्यक्ष र सचिवहरु सहभागी थिए ।