Swornakshar Logo

धरान मेयरको पहिलो निर्णयः कर पुनरावलोकन गर्न विज्ञटोली गठन

१८ मंसिर । काठमाडौं । धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर तिलक राईले उपमहानगरपालिकामा लगाएको कर घटाउन विज्ञ टोली गठन गर्ने निर्णय गरेका छन् । उनले यसअघि लगाएको घरबहाल कर घटाउनु पर्ने आवश्यक ठहर गर्दै त्यसका लागि विज्ञटोली गठन गर्ने निर्णय गरेका छन्।
उनले धरानका जनताको अवस्थालाई ख्याल गरेर नयाँ कर निर्धारण गर्न विज्ञ टोली बनाउने निर्णय पनि गरेका छन्।
सोमबार निर्वाचित भएका मेयर बुधबार दिउँसो पदबहाली गर्दै राईले करलाई तत्काल घटाउन आवश्यक रहेको निष्कर्षसहित विज्ञटोली गठन गर्ने भएका हुन्।

अघिल्लो मेयरका पालामा हचुवाको भरमा कर बढाइएको र त्यसलाई समायोजन गर्न आवश्यक रहेको विषयमा नयाँ निर्णय गरेको छ ।
‘कर समायोजन गर्न यसबारेको विज्ञटोली गठन गर्ने र त्यसले दिएको सुझावका आधारमा धराने जनताले तिर्न सक्ने नयाँ कर निर्धारण गरी लागू गरिनेछ,’ मेयरको भनाई उद्धृत एक सचिवालय सदस्यले बताए ।
यसअघि निर्वाचित उपमहानगरपालिका नेतृत्वले अवैज्ञानिक रुपमा कर बढाइको भन्दै उपनिर्वाचनमा कांग्रेसले यसलाई प्रमुख चुनावी मुद्दा बनाएको थियो। स्थानीय निकायमध्ये धरानमा लगाइएको कर सबैभन्दा बढी रहेको थियो ।
नेकपाबाट निर्वाचित मेयर तारा सुब्बाको निधन भएपछि धरानमा मंसिर १४ गते भएको उपनिर्वाचनमा कांग्रेसले २८ वर्षपछि कम्युनिष्ट गढ भत्काउँदै विजयी भएको थियो। मेयरले मंगलबार नेपालखबरसँगको कुराकानीमा स्थानीय कर पुनरावलोकन गर्ने बताएका थिए ।