Swornakshar Logo

निर्वाचन भएका क्षेत्रलाई तीन दिनभित्र समीक्षा प्रतिवेदन पठाउन नेकपाको निर्देशन

१८ मंसिर । काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले तीन दिनभित्र उपनिर्वाचन भएका ५२ वटै स्थानको समीक्षा पठाउन सम्बन्धित जिल्लाहरुलाई निर्देशन दिएको छ।

बुधबार पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा बसेको सचिवालयको बैठकले तीन दिनभित्र सबै निर्वाचन भएका स्थानको समीक्षा केन्द्रमा पठाउन निर्देशन दिने निर्णय गरेको छ।
बैठकपछि कुरा गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था, स्थानीय निर्वाचन लगायतका विषयमा छलफल भएको जानकारी दिए ।

‘निर्वाचन भएका सबै क्षेत्रको समीक्षा तीन दिनभित्र केन्द्रमा पठाउन निर्देशन दिने निर्णय भएको छ’, श्रेष्ठले जानकारी दिए ।

उपनिर्वाचनमा प्रदेशसभा भक्तपुर र धरान उपमहानगरपालिका लगायत केही वडामा नेकपा पराजित भएको थियो। केही स्थानमा अन्तर्घातका कारण पनि पराजय भएको चर्चा चलेपछि नेकपाले सम्बन्धित क्षेत्रलाई नै समीक्षा गर्न निर्देशन दिएको हो। सम्बन्धित क्षेत्रको समीक्षा आएपछि मंसिर २३ गते बस्ने सचिवालयको अर्को बैठकले उपनिर्वाचनको व्यवस्थित समीक्षा गर्ने उनले बताए।
पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि पहिलो पटक प्रचण्डको अध्यक्षतामा पार्टी कार्यलय धुम्बाराइमा बैठक बसेको हो। नेकपाले यही मंसिर ४ गतेको सचिवालय बैठकबाट सरकार सञ्चालनको जिम्मा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई र पार्टी सञ्चालनको अधिकार अर्का अध्यक्ष प्रचण्डलाई दिने निर्णय गरेको थियो।