Swornakshar Logo

उपनिर्वाचनको पूर्वसन्ध्यामा काँग्रेसको पत्रकार सम्मेलनः सरकारमाथि हमला

१३ मंसिर । काठमाडौं । नेपाली काँग्रेसले उपनिर्वाचनको पूर्वसन्ध्यामा सत्तापक्षका मन्त्री मुख्यमन्त्री चुनावमा प्रचारप्रसारमा गएर आचारसंहिताको उल्लंघन भएको भन्दै आपत्ति जनाएको छ ।

पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रवक्ता विश्वप्रकाश शर्माले आचारसंहिता विपरीत सरकारी साधन–स्रोतको दुरूपयोग गरेर केन्द्रीय सरकारका मन्त्रीदेखि प्रदेशका मुख्यमन्त्रीसम्म चुनाव प्रचारमा संलग्न भएको आरोप लगाए ।

यस्तै काँग्रेसद्वारा गठित ‘उपनिर्वाचन अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति’का संयोजक रमेश लेखकले सरकारको रवैयाले उपनिर्वाचनको निष्पक्षतामाथि प्रश्न उठ्ने कदमहरु भइरहेको दावी गरे । संयोजक लेखकले मतदान हुनुअघि राज्य नियन्त्रित गतिविधि रोक्ने सक्षमता प्रस्तुत गर्न पनि निर्वाचन आयोगलाई आग्रह गरे ।

उपनिर्वाचनमा उम्मेदवारदेखि कर्मचारीमाथि कुटपिट
यता उपनिर्वाचनको पूर्वसन्ध्यामा सत्तापक्षका कार्यकताबाट बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं. ४ का काँग्रेसका वडाअध्यक्ष उम्मेदवार सुरेन्द्रप्रसाद भट्टमाथि भौतिक आक्रमण भएको काँग्रेसले जनाएको छ ।
नेकपाका कार्यकर्तालाई काँग्रेसमा प्रवेश गराएको भन्दै चितवनमा पार्टीका कार्यकर्ता टेकबहादुर परियारमाथि आक्रमण भएको शर्माले दाबी गरे ।

उनले भने, ‘चितवन खैरहनी नगरपालिका वडा नं. ४ मा मंसिर ६ गतेको चुनावी सभामा ३९ युवा सहित ४६ जना नेकपाका कार्यकर्ता काँग्रेसमा प्रवेश गर्नु भएको थियो । आफ्नो समुदायका थुप्रैलाई काँग्रेस प्रवेश गराउने भूमिका निर्वाह गरेका टेकबहादुर परियारलाई मंसिर ९ गते राति भौतिक आक्रमण गरिएको छ ।’

यस्तै महोत्तरीको पिपरामा बम विस्फोटपछि मौन अवधिमा पनि चुनाव प्रचारकै शैलीमा गतिविधि भएको काँग्रेसको दावी छ ।

यता काँग्रेसले त्रिचन्द्र क्याम्पस प्रमुखमाथि भएको आक्रमणको निन्दा गरेको छ ।

प्रवक्ता शर्माले भने, ‘शुल्क वृद्धिका विरुद्ध आवाज उठ्नु सही छ । तर क्याम्पस प्रमुखमाथि भौतिक आक्रमण गर्नु दुःखद मात्रै होइन दण्डनीय छ ।’

नेकपा निकट विद्यार्थी नेताहरुले नेपाल कमर्श क्याम्पस मिनभवमा नेविसंघका सदस्यहरुमाथि आक्रमण गरेर डुजाङ शेर्पा, सरोज तिमल्सिना र निरज शाहलाई घाइते बनाएको पनि काँग्रेसले आरोप लगाएको छ ।
घटनाका दोषीहरुलाई कारवाही गर्न पनि काँग्रेसले सरकारलाई सचेत गराएको छ ।

कालापानी प्रकरणः खोइ गम्भीर पहलकदमी ?
कालापानी, लिपलेक र लिम्पीयाधुरा समेत गाँसेर भारतले नक्सा सार्वजनिक गरेको विषयमा सरकारले उच्चस्तरीय कुटनैतिक र राजनैतिक पहल गम्भीर ढंगले नगरेको आरोप लगाएको छ ।

पत्रकार सम्मेलनमा शर्माले भने, ‘नेपालका अविभाज्य भूमिहरू कालापानी, लिपलेक र लिम्पीयाधुरा समेत गाँसेर नक्सा सार्वजनिक गरेको महिना दिन पुग्न लाग्दा समेत सरकारले उच्चस्तरीय कुटनैतिक र राजनैतिक पहल गम्भीर ढंगले नगर्नु अत्यन्तै दुःखद छ । प्रमुख प्रतिपक्षीसहित सबै दल र समस्त नेपालीको सम्पूर्ण साथका वावजुद सरकारले परिणाममुखी पहल गर्न नसक्नु लज्जास्पद विषय हो ।’

सरकारको उदासीनताका कारण कालापानीबाट भारतीय सुरक्षा बल फिर्ता गराउने राष्ट्रिय एकताको ऐतिहासिक अवसर गुम्न सक्ने आशंका र खतरा पनि बढेको शर्माले बताए ।

‘सरकार पक्षका नेताहरु हाम्रो सभापतिमाथि प्रश्न उठाइ रहेको छन् । अहिलेसम्म मोदीमाथि प्रश्न उठाउने हिम्मत गर्न सकेका छैन । प्रश्न गर्नुपर्ने मान्छेलाई प्रश्न गर्नु सक्नु पर्यो ।’

यता काँग्रेस धुलिखेलदेखि सूर्य विनायकसम्मको खण्ड विस्तार गर्ने जिम्मेवारीबाट जाइका बाहिरिन लाग्नु दुःखद भएको काँग्रेसले बताएको छ ।

सरकारले आफ्नो रवैया सच्याएर तत्काल अनुकूल वातावरण निर्माण गर्न काँग्रेसले माग गरेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई असफल परियोजनाका संज्ञा दिँदै शर्माले त्यसका लागि विश्व बैंकसँग १३ अर्ब ७३ करोड ऋण लिन गरिएको सम्झौताले हरेक नागरिकको शिरमाथि वैदेशिक ऋणको भार थपिन लागेको बताए ।

काँग्रेसले अनुत्पादक ढंगले अघि नबढ्ने सरकारलाई सर्तक र सचेत गराएको छ ।