Swornakshar Logo

सरकार र पार्टीको नेतृत्वको कन्फ्युजन हट्योः अध्यक्ष प्रचण्ड

१० मंसिर । हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व आलो, पालो गर्ने भन्ने कन्फ्युजनको अन्त्य भएको बताए। नेकपा मकवानपुरले आज हेटौंडामा गरेको कार्यकर्ता भेटघाटका क्रममा अध्यक्ष प्रचण्डले भने–‘हामी दुवैजना अध्यक्ष हौं । पार्टीमा बढी जोड मेरो हुन्छ । सरकारमा अर्का अध्यक्ष केपी ओली कमरेडको हुन्छ।’

पार्टीको उदेश्य चुनाव जितेर सरकार बनाउने मात्र नभइकन ७० वर्ष सम्मको अराजकताको अन्त्य पनि गर्नु रहेको प्रचण्डले बताए । उनले राजनीतिक स्थायीत्व अरु बेलाको भन्दा धेरै भएको बताए । उनले भने ‘अव एकतावद्ध भएर जाने हो । विकास हुन्छ । भारत र चिनको विचमा परेकाले पनि विकास हुन्छ ।’

चिनका राष्ट्रपतिको भ्रमणले ठुलो सन्देश गएको उनले बताए । आफुहरुले गरेका कामहरु ठिक गरियोकी गरिएन भनेर हेर्नका लागि उनले आग्रह गरे । सबैतिर चुनावी अभियान हेर्दा निकै उत्साह बढेको बताए । परिवर्तन प्रतिको आस्था र भरोसा राम्रो भएको उनको भनाई छ । देशलाई विकास र समृद्धीको प्रकृयामा लैजानका लागि आफ्नो प्रयास रहेको बताए। अ

कार्यक्रममा प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानु कुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल, भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, सामाजिक विकास मन्त्री युवारज दुलाल, नेकपाका प्रदेशका प्रमुख सचेतक रामेश्वर फूयाल, नेकपाका केन्द्रीय सदस्य केदार न्यौपाने, सह इन्चार्ज रामेश्वर राना, नेकपा मकवानपुरका सहइन्चार्ज कुमारी मोक्तान, अध्यक्ष मुनु सिग्देल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत लगायतकाको उपस्थिती रहेको थियो ।