Swornakshar Logo

नेपाली भूमि मिचेको विरोधमा नेविसंघले निकाल्यो राँके जुलुस, प्रहरीद्वारा हस्तक्षेप

२ मंसिर । काठमाडौं । भारतले नेपाली भूमि मिचेको भन्दै कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)का ग्रामीण आदर्श बहुमुखी क्याम्पस र एनआर बहुमुखी क्याम्पसको आयोजनामा राँके जुलुस निकालिएको छ । सोमबार साँझ काठमाडौंको बालाजुमा निकालिएको जुलुसलाई प्रहरीले हस्तक्षेप गरेको छ ।

नेविसंघको प्रदर्शनका क्रममा प्रहरी हस्तक्षेप गरी २१ जना नेता कार्यकर्ता तथा विद्यार्थीलाई पक्राउ गरेको विद्यार्थी नेता सुशील भट्टले जानकारी दिए । भारतले नेपाली भूमि कब्जा गरेकाले सो भूमि तत्काल फिर्ता गर्न माग गर्दै उनीहरूले राँके जुलुस निकालिएको थियो । जुलुस माछापोखरी पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

पक्राउ पर्ने विद्यार्थी नेता तथा विद्यार्थीहरूमा निरञ्जन थापा, ईश्वर अधिकारी, सुवास घिमिरे, शौरभ घिमिरे, विजय ढुंगाना, सुल्तान मियाँलगायत रहेका छन् । उनीहरूलाई महानगरीय प्रहरी वृत बालाजुमा राखिएको छ ।