Swornakshar Logo

राष्ट्रपति हमिद पोखरामा

२७ कार्तिक । काठमाडौं । चार दिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बिहीबार नेपाली सेनाको विशेष हेलिकोप्टरबाट पोखरा गएका छन् । राष्ट्रपति मोहम्मद अब्दुल हमिदको पोखरामा भव्य स्वागत गरिएको छ ।

हमिदलाई स्वागत गर्न पोखरा विमानस्थलमा गण्डकी प्रदेश प्रमुख अमिक शेरचनसहित प्रदेशका कार्यवाहक मुख्यमन्त्री, सभामुख, मन्त्रिगण, प्रमुख प्रतिपक्षी दलका नेता पुगेका थिए ।
विमानस्थलमा उनको स्वागतको लागि पञ्चैबाजा बजाइएको थियो ।

नेपाली समकक्षी विद्यादेवी भण्डारीको औपचारिक निम्तोलाई स्वीकार गर्दै नेपाल भ्रमणमा आएका राष्ट्रपति हमिदको पोखरा भ्रमणले यहाँको पर्यटनमा थप टेवा पुग्ने व्यवसायीहरुले बताएका छन् ।

फेवाताल किनारमा पुगेका राष्ट्रपति हमिदले धर्मपत्नीका साथ झण्डै आधा घण्टा जलविहार गरेका थिए । जलविहारपछि राष्ट्रपति हमिद फेवाताल किनारास्थित फिष्टेल लजमा दिवा भोज गर्नाका साथै केही समय आराम गरी दृश्यावलोकनका लागि रुपाकोट रिसोर्ट प्रस्थान गरेका थिए । रुपाकोटको दृश्यावलोकनपछि उनी सीधै काठमाडौँ फर्कने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए ।