Swornakshar Logo

भक्तपुरमा स्वतन्त्रसहित २१ जनाको उम्मेदवारी दर्ता

२१ कात्तिक । भक्तपुर । जिल्ला निर्वाचन कार्यालयमा भक्तपुरमा आउँदो मंसिर १४ गते भक्तपुर क्षेत्र नम्बर १ प्रदेश (क) मा प्रदेश सभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि शुक्रबार ११ दल र १० स्वतन्त्रसहित २१ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट देवीप्रसाद (डिपी) ढकाल, नेपाली कांग्रेसबाट कृष्णलाल भडेल तथा नेपाल मजदूर किसान पार्टीबाट निरज लवजूले उम्मेदवारी दिनुभएको छ।

नेकपाका तर्फबाट सचिवालय सदस्य वामदेव गौतम, स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य, केन्द्रीय सदस्य एवं सांसद महेश बस्नेत, केन्द्रीय सदस्य एवं सांसद रामेश्वर फुयाँल, प्रदेश सभा सदस्यहरु शशीजंग थापा, डा. राजेन्द्रमान श्रेष्ठ, सरस्वती वाटी, नेकपा जिल्ला अध्यक्ष बचन देउजालगायतको नेतृत्वमा र्‍याली प्रर्दशन गरिएको थियो ।

त्यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य एवं पूर्व सञ्चारमन्त्री मोहन बहादुर बस्नेत, केन्द्रीय सदस्य रमा पौडेल, जिल्ला सभापति दुर्लभ थापा सहितको नेतृत्वमा र्‍याली प्रर्दशन गरिएको थियो ।

यता नेपाल मजदुर किसान पार्टीले पार्टी सचिव एवं सांसद प्रेम सुवाल, प्रदेश सदस्य सुरेन्द्रराज गोसाईलगायतका नेताहरु सहभागी थिए ।


दलहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबाट रामशरण लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट श्याम प्रसाद नेपाल, साझा पार्टीबाट सुरज प्रधान, समाजवादी पार्टी सुर्दशन कुमार मुनंकर्मी, नेकपा मालेबाट सुर्दशन लामिछाने, नेपाली कांग्रेस (बि.पी.) बाट मधुसुदन न्यौपाने, आमूल परिवर्तन मसिहा पार्टीबाट डिल्ली प्रसाद चौलागाईँ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मिङ्मार लामाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

स्वतन्त्रतर्फ कृष्णप्रसाद ह्यामो, कृष्णराम पोतामाहा, जीवन नेपाली, अर्जुन कोजू, राकेश सुवाल, उत्तम शाखकर्मी, सुमना कार्की, जीवन चन्द्र अधिकारी, सुजाता देउजा, संगीता पौडेल आचार्यले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

२०७४ सालमा भएको निर्वाचनमा तत्कालीन एमालेबाट निर्वाचित हरिशरण लामिछानको मष्तिस्कघातबाट निधन भएपछि रिक्त रहेको यो स्थानमा उपनिर्वाचन हुने भएको हो ।

शान्ति पूर्ण र सौहार्द रुपमा बिहान १० बजेदेखि १ बजेसम्म प्रवेश गर्नेहरुले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत जगत नारायण प्रधानले जानकारी दिनुभयो ।