Swornakshar Logo

मुस्कान माथि एसिड प्रहार गर्नेलाई बालसुधार गृह पठाइयो

१ कार्तिक । काठमाडौं । मुस्कान खातुन माथि एसिड प्रहार गर्ने दुईजना अभियुक्तलाई बालसुधार गृह पठाइएको छ । पर्सा जिल्ला अदालतको आदेशमा अभियुक्तलाई बालसुधार गृह पठाइएको हो ।

पर्सा जिल्ला अदालतका श्रेस्तेदार कृष्ण प्रसाद अधिकारीका अनुसार अदालतमा पेश भएको मिसिलमा दुवै अभियुक्तको उमेर १८ बर्ष पुगेको प्रमाण नभएपछि कारागारमा नभई बालसुधार गृहमा राख्न आदेश भएको बताए ।

पर्सा जिल्ला अदालतको अनुसार प्रहरीले गत बुधबार अभियुक्त सहित अदालतमा मिसिल पेश गरे सँगै भएको थुनछेक बहसपछि दुवै युवालाई बालसुधार गृहमा पठाइएको बताएको छ ।

बालसुधार गृह चलान भएका अभियुक्त युवाहरु वीरगन्ज २ छपकैयाका सम्साद मिया र मजिद आलम हुन् ।

मुस्कान खातुन माथि एसिड प्रहार गर्ने मिया र आलम प्रतिवादी रहेको मुद्दामा वैतनिक कानून व्यवसायी प्रतिमा चौरसियाले मात्र बहस गरिन् ।

सरकारवादी मुद्दा भएकोले वादीको तर्फबाट सरकारी वकिल कार्यालय पर्साका जिल्ला न्यायधिवक्ता रुद्र प्रसाद पन्थी, सहन्यायधिवक्ताद्वय टिकाराम भण्डारी र उमंग निरौलाले बहस गरेका थिए । अभियुक्तले पनि स्वीकारी बयान दिइसकेको मुद्दामा खासै कानून व्यवसायीहरुले पनि चासो नदिने गरेको अदालतको भनाइ छ ।

अभियुक्तको मिसिलमा यस्तो देखियोः

एसिड प्रहार गर्ने मिया र आलमको उमेर मिसिलमा फरक फरक देखिएको छ । प्रहरीले अभियुक्तसँग लिएको बयानमा आलमको उमेर १९ र मियाको उमेर १८ बर्ष उल्लेख छ ।

त्यसैगरी प्रहरीको थुनामा भएका समयमा पर्सा प्रहरीले नारायणी अस्पतालमा चेकजाँच गराउँदा नारायणी अस्पतालका चिकित्सकहरुले अभियुक्तहरुको उमेर १६ देखि १८ र १८ देखि २० सम्मको उल्लेख गरेको पनि प्रहरीले पेश गरेको मिसिलमा जनाइएको छ ।

जन्मदर्ता प्रमाण पत्र पेश भएको मिसिलमा मजिद आलमको जन्म १ बैशाख २०६२ उल्लेख छ भने समसाद मियाको २०६४ सालमा जन्म भएको जन्मदर्ता प्रमाणपत्रमा उल्लेख छ ।

वीरगन्ज–३ छपकैयाबाट वीरगन्ज–६ मा रहेको त्रिभुवन हनुमान माध्यमिक विद्यालयमा पढ्न जाने क्रममा गत २० भदौमा वीरगन्ज–४ विर्तास्थित गणेशमान चोकमा मुस्कान खातुनमाथि एसिड प्रहार भएको थियो ।

बाटो कुरेर बसेका मिया र आलमले एसिड आक्रमण गरी मुस्कानलाई घाइते बनाएका थिए । १५ बर्षीय मुस्कानलाई नातामा पर्ने मजिद आलमले मन पराएको र उनले चाहे बमोजिम मुस्कानले नमाने पछि पछि समसाद मियाको सहयोगमा एसिड प्रहार गरेको मजिदले प्रहरीसमक्ष दिएको बयानमा उल्लेख छ ।