Swornakshar Logo

विप्लव समूहका २१ नेता पक्राउ

३० असोज । काठमाडौं । गोरेटो बाटो हुँदै दाङ राजपुर गाउँपालिका वडा नम्बर ४ मा पर्ने मुग्रेठा खोला छ । गाउँसम्म पुग्न मोटर बाटो छैन । मुग्रेठा खोलामा जम्मा ६, ७ घर छन् । यो नेपाल भारत सीमा नाका क्षेत्र पनि हो । सुरक्षाको दृष्टिले सुरक्षित गाउँ पनि हो । यही गाउँबाट नेपाल प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २१ नेतालाई पक्राउ गर्‍यो ।

मुग्रेठा गाउँमा बैठक हुनुभन्दा एक दिन अघि मात्रै नयाँ मानिसहरुको आवत जावत क्रम बढेको प्रहरी कार्यालयमा गोप्य सूचना पुग्यो । उक्त सूचनाको आधारमा प्रहरीले सादा पोशाकमा प्रहरी परिचालन गर्यो । राप्ती ब्यूरो बैठकका लागि केन्द्रीय नेताहरु आएको थाह पाएपछि प्रहरीर्ले नेताहरुलाई पक्राउ गर्ने योजना बनायो ।

विप्लवका नेता कार्यकर्ताको आश्रयस्थल देउखुरीको गढवा र राजपुर गाउँपालिकाको सिमाना क्षेत्रमा रहेको हल्ला थियो ।

जिल्ला प्रहरी कार्यालय दाङ, वडा प्रहरी कार्यालय लमही र इलाका प्रहरी कार्यालय गढवाका गरी २० जना प्रहरीले बैठक बसिरहेको घर घेरा हालेर पक्राउ गरे । गाडी जाने ठाउँसम्म गाडीमा गएका प्रहरी तीन घण्टासम्म जंगलको बाटो पैदल हिँडेर मुग्रेठा पुगेका थिए ।

त्यहाँ पुग्दा बैठकस्थल वरपर विप्लवका युवाहरु सेन्ट्री बसेर सुरक्षा दिएको पत्ता लागेपछि प्रहरीले रुट परिवर्तन गरेर अर्को बाटोबाट त्यहाँ पुग्यो र बैठक बसिरहेका नेत्रविक्रम चन्द ुविप्लवका दाजु चन्द्रबहादुर चन्दसहितका नेताहरुलाई पक्राउ गर्न सफल भयो ।

उनीहरुको बारेमा शुक्रबार मात्रै सार्वजनिक गरिने दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनक भट्टराईले बताए । सबैलाई बिहीबार दिउँसो नै जिल्ला प्रहरी कार्यालय दाङमा ल्याएर सोधपुछ सुरु भएको उनले बताए ।

नागरिकता अनुसारको ठेगाना नै बताउँदैनन्, पक्राउ गरिएका सबैले उल्टासुल्टा मात्रै कुरा गर्छन्, हामी छिट्टै घटना सार्वजनिक गर्ने प्रक्रियामा छौँ एसपी भट्टराईले भने ।