Swornakshar Logo

महरालाई ३ दिन थुनामा राख्‍न अदालतको अनुमति

२८ असोज । काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख तथा सांसद कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले ३ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । पक्राउ परेयता महरा १० दिन थुनामा बसिसकेकाले अब तीन दिन थुनामा रहनेछन् ।

महरा असोज १८ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै पक्राउ परेका थिए । बीचमा दसैं बिदा परेकाले म्याद थपका लागि आजमात्र प्रहरीले महरालाई अदालतमा पेश गरेको थियो ।

महराको स्वास्थ्यमा समस्या देखिएपछि उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । उनलाई आज अदालत पनि अस्पतालबाट लगिएको हो । अस्पतालले डिस्चार्ज नगरेकाले फेरि अस्पतालमै भर्ना गरिने बताइएको छ ।

महरामाथि असोज १२ गते आइतबार संसद सचिवालयमै कार्यरत महिला कर्मचारी रोशनी शाहीकै कोठामा गएर यौन दुर्व्यवहार गरेको आरोप छ ।

जिल्ला न्यायाधीश दीपककुमार दाहालको इजलासले दुवै पक्षको बहस सुनेपछि थप तीन दिन थुनामा राख्न अनुमति दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए ।

बहसका क्रममा सरकारी वकिलले महरासँग बयान नसकिएको भन्दै थप तीन दिन मागेका थिए । महराका पक्षबाट बहस गरेका अधिवक्ता रमण श्रेष्ठलगायतले भने म्याद थप्न नहुने जिकिर गरेका थिए । २४ घण्टाभित्र म्याद थप गर्नुपर्नेमा ढिलो गरी ल्याइएकोमा पनि श्रेष्ठले बहसका क्रममा असन्तुष्टि जनाएका थिए ।