Swornakshar Logo

सी चिनफिङको प्लेन किन देखिएन कुनैपनि राडारमा

२५ असोज । काठमाडौं । २३ वर्षपछि चिनियाँ राष्ट्रपति सी चिनफिङ राजकीय भ्रमणका लागि नेपाल आएका छन् । सी भारत हुदै नेपाल आएका हुन् ।

सी ले भारतको चेन्नईमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर त्यहीँको विमानस्थलबाट एयर चाइनाको एक विशेष विमान सीए५७ मार्फत् सी नेपाल आएका हुन् । सी नेपाल आउँदा उनीसहित चिनियाँ प्रतिनिधिहरु तीनवटा हवाइ जहाजमा नेपाल आएका छन् ।

सुरक्षित उडानका लागि सबै विमानको अवस्था राडारमा ट्रयाक गरेर हेरिन्छ । हरेक एयरपोर्टमा त्यो सिस्टम हुन्छ भने प्रविधिको विकाससँगै घरमै बसेर इन्टरनेटमार्फत् पनि त्यसलाई ट्रयाक गर्न सकिन्छ । विभिन्न वेबसाइटमार्फत् कुन विमानस्थलबाट उडेको कुन विमान कुन विमानस्थलमा अवतरण गर्ने हो र अहिले कहाँ पुग्यो भनेर इन्टरनेटबाटै पनि हेर्न सकिन्छ ।

तर, सी चढेको विमान भने कुनैपनि राडारमा देखिएको थिएन । इन्टरनेटका अनलाइन फ्लाइट ट्रयाकरमा मात्र होइन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राडारले पनि सी चढेको सीए५७ विमान ट्रयाक गर्न सकेन ।

सी आफ्नो सुरक्षा र गोपनियताको कुरामा धेरै चलाख र सचेत राष्ट्रप्रमुखमध्येमा पर्छन् । सी नेपाल आउँदा त्रिभुवन विमानस्थलका सबै उडान रोकिएका थिए । नेपालको आकाश खाली गरिएको थियो । साथै उनको उडानको विवरणसमेत गोप्य राखिएको थियो ।

कुनैपनि माध्यममा उनको विमानको उडान र अवतरणको समय दिइएको थिइएन । अनलाइनमार्फत् विभिन्न विमानस्थलको उडान र अवतरण सेड्युल हेर्न मिल्ने साइटहरु सबै खालि थिए ।

हरेक विमानस्थलको उडान र अवतरणको विवरण दिने फ्लाइटस्टाट्स डटकममा चेन्नई विमानस्थलबाट त्रिभुवन विमानस्थलसम्म जाने फ्लाइटको उल्लेखसमेत थिएन । यस्तै, विमानलाई राडारमार्फत् ट्रयाक गरेर अनलाइनमा त्यसको अवस्थितिको जानकारी दिने वेबसाइट राडार२४ डटकमले समेत सी को विमान ट्रयाक गर्न सकेको थिएन ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार विमानमा राडारमा देखिन वा नदेखिनका लागि एउटा स्विच हुन्छ । यदि त्यो स्विच बन्द गरिएमा सो विमानलाई कुनैपनि राडारले ट्रयाक गर्न मिल्दैन । प्रवक्ता पाण्डेले सीको विमानमा सो स्विच बन्द गरिएकाले कुनैपनि राडारमा नदेखिएको हुनसक्ने बताए ।