Swornakshar Logo

चिनियाँ राष्ट्रपतिको भ्रमणमा उच्चस्तरीय सुरक्षा हुने

२४ असोज । काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार (२५ असोज) मा नेपाल आउँदैछन् । राष्ट्रपति सी को दुई दिवसीय राजकीय भ्रमणमा सरकारले उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाएको छ । सरकारले चारवटै सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि राष्ट्रपति कार्यालयसम्म र राष्ट्रपति बस्ने होटलसम्मको आवश्यक सुरक्षा व्यवस्था मिलाइएको बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सीले यही असोज २५ र २६ गते नेपालको दुई दिवसीय राजकीय भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

उनको सुरक्षामा काठमाडौँको जिल्ला सुरक्षा समितिको समन्वयमा नेपाल प्रहरी, ससस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना सहभागी सुरक्षा समन्वय समितिले आन्तरिक सुरक्षाको जिम्मा लिएको छ ।

भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सीसहितको विशिष्ट पाहुनाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधिमण्डलस्तरमा औपचारिक वार्ता गर्ने छन् ।

तेइस वर्षपछि हुन लागेको भ्रमणले आपसी मित्रता र सहकार्य थप अभिवृद्धि हुने विश्वास गरिएको छ । महत्वपूर्ण विषयमा सम्झौतासमेत हुने जनाइएको छ ।

राष्ट्रपति सी सवार हुने सडकहरु नयाँ कालोपत्रेसहित चिल्लो बनाइएको तथा ठाउँठाउँमा नेपालको प्राकृतिक सुन्दरता झल्कने तस्वीर र ब्यानर राखिएको छ । सम्भावित क्षेत्र र चोकमा नियमित सुरक्षा गस्ती बढाइएको छ ।

ठाउँठाउमा स्वागतद्वार बनाउने, सडक पुनःनिर्माणलाई तीव्रता दिने पार्कश आकर्षित गर्ने फूलका बिरुवा सार्ने तथा रङरोगन गर्ने काम तीव्र रुपमा भइरहको छ ।