Swornakshar Logo

मनाङको पाँच हजार दुई मिटर उचाइमा रहेको ताल क्षेत्रमा महोत्सव

१७ असोज । काठमाडौं । केही समयअघि मात्र मनाङका एक ताल पत्ता लागेको छ । ५ हजार २ मिटर उचाइमा रहेको सिंगर ताल क्षेत्रमा महोत्सव गरिएको छ। चामे गाउँपालिकाले तालको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारका लागि क्षेत्रमा महोत्सव आयोजना गरेको हो । पर्यटन प्रवर्द्धनमा थप टेवा पुर्‍याउने उद्देश्यका साथ चामे गाउँपालिकाले सिंगो मनाङ जिल्लाको चिनारी र तालबारे जानकारी दिएर तालमै पुगेर महोत्सव गरिएको हो।

प्राकृतिक तालको संरक्षण र पर्यटन प्रवर्द्धनका लागि तालमा महोत्सवको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेले बताए । समुद्री सतहदेखि ५ हजार २ मिटर उचाइमा रहेको ताल अवलोकनका लागि र महोत्सवमा सहभागि हुन चामेका स्थानीय, आन्तरिक पर्यटक सुरक्षाकर्मी र सञ्चारकर्मीसहितको टोली कजिन सारा तालमा पुगेका थिए । महोत्सव यात्रामा १८ वर्षका युवादेखि ७६ वर्ष उमेरका वृद्धहरूसमेत सहभागी भएका थिए ।

मनाङको मुख्य व्यवसाय पर्यटन नै भएकाले प्राकृतिक सम्पदाहरूको संरक्षण र प्रचार प्रसारका लागि महोत्सव आयोजना गरिएको हो ।

गत असोज १० गते चामेका आमा समूहले खादा लगाइ महोत्सवमा जान लागेका जनप्रतिनिधि, स्थानीय बासीन्दा, सुरक्षाकर्मी तथा सञ्चारकर्मीलाई बिदा गरेका थिए । स्थानीय भाषामा यात्रा सफलताका लागि गीत गाएर उनीहरूले विदाइ गरेका थिए ।

यात्राको पहिलो दिन लमजुङ हिमाल बेसक्याम्पमा र दोस्रो दिनको यात्रा यात्रा सिंगर खर्कमा पुगेर टुंगिएको थियो । तेस्रो दिन कजिन सारा तालमा पुगेर महोत्सव सम्पन्न गरिएको थियो । असोज १० देखि १४ गतेसम्म आयोजना गरिएको महोत्सव प्रतिकूल मौसमका कारण तीन दिनमै टुंग्याइएको थियो । यात्रा आरम्भ भएकै दिनदेखि लगातार झरी परेपछि महोत्सव प्रभावित हुन पुगेको हो ।

महोत्सवले तालको प्रचारप्रसारमा सहयोग पुग्ने महोत्सवमा सहभागि स्थानीय शिक्षक मिङमार लामाले बताए । अब गाउँपालिकाले तालसम्म पुग्ने बाटो र ठाउँ ठाउँमा बस्ने धर्मशालाको निर्माण गर्नुपर्छ ताकि त्यहाँ जाने स्वदेशी तथा विदेशी पर्यटकलाई सहज होस्ु उनले भने । उनले ठाउँ ठाउँमा बाटो र तालको बारेमा जानकारी दिन संकेत चिन्हहरूसमेत राख्न सुझाए ।

महोत्सवमा सहभागी भएका ७५ वर्षीयका नोर्वु लामाले आफ्नै गाउँमा ताल फेला परेपछि दंग परेको बताए । उनले आफू लामो समयसम्म सिंगर खर्कमा आउजाउ गरे पनि तालको बारेमा जानकारी नभएको भन्दै तालमार्फत चामे गाउँपालिकाले नयाँ चिनारी पाएको बताए । चामे गाउँपालिका ५ का वडाध्यक्ष गंगा गुरूङले तालसम्म पुग्ने पदयात्रा मार्ग र पर्यटकहरूको सुविधाका लागि धर्मशालाको निर्माणमा गाउँपालिकाले ध्यान दिने बताए। महोत्सवमा चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेले सिंगर खर्कमा रहेकाले तालको नाम सिंगर ताल राखिएको जानकारी दिए । यो ताल मनाङ सदरमुकामबाट दक्षिणपश्चिममा पर्छ।

चामेबाट २५ किलोमिटरको दूरीमा पर्ने भए पनि भौगोलिक कारण यो तालसम्म पुग्न चामेबाट तीन दिनको पैदल यात्रा तय गर्नु पर्छ।