Swornakshar Logo

प्रधानमन्त्री ओलीद्धारा अभिभावकत्व लिइएका विद्यार्थीलाई दशैँ खर्च

१४ असोज । काठमाडौं । डेढ वर्षअघि भर्ना अभियानमा अभिभावकत्व लिइएका विद्यार्थीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले दशैँ खर्च पठाएका छन् । सिरहाको कल्याणपुर नगरपालिका–११ स्थित रामदुलारी मावि र मुगुका दुई विद्यालयमा भर्ना गरी अभिभावकत्व लिइएका ती विद्यार्थीलाई प्रधानमन्त्री ओलीले नेपालीहरुको महान् चाड दशैँका अवसरमा प्रगतिको कामनासहित जनही रु पाँच हजार खर्च पठाएका हुन् । ती सबै विद्यार्थी अहिले कक्षा २ मा अध्ययनरत छन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा.कुन्दन अर्यालका अनुसार उक्त खर्च निजी सचिवालयलमार्फत सोमबार सम्बन्धित विद्यालयको प्रधानाध्यापक र विद्यार्थीका अभिभावकको समन्वयमा बैंकमा जम्मा गराइएको बताए ।

ती विद्यार्थीलाई यसअघि पनि गत पुस र साउनमा आर्थिक सहयोग र स्टेशनरी पठाइएको थियो । दुई वर्षभित्र देशबाट निरक्षरता हटाउने घोषणासहित शुरु भएको भर्ना अभियानअन्तर्गत प्रधानमन्त्री ओली र उनकी धर्मपत्नी राधिका शाक्यले २०७५ वैशाख १ गते कर्णाली प्रदेशको मुगु र वैशाख ६ गते प्रदेश नं २ को सिरहामा कक्षा १ मा ती विद्यार्थी भर्ना गराई अभिभावकत्व ग्रहण गरे । सो दिन मुगुमा रारा पर्यटन महोत्सवको उद्घाटन, नयाँ वर्षमा देशवासीका नाममा सम्बोधन र विद्यार्थी भर्ना अभियानको थालनी भएको थियो ।

प्रधानमन्त्री ओलीले मुगुको कार्मारोङ गाउँपालिका–८ का छिजु तामाङ र कार्मा टोन्डु लामाका छ वर्षीया छोरी थिल्ने साङ तामाङलाई बुद्ध मावि विद्यालय भर्ना तथा पाठ्यपुस्तक वितरणको शुभारम्भ गरेका थिए । प्रधानमन्त्रीपत्नी शाक्यले सोही विद्यालयमा छेरिङ छोन्तोम लामालाई भर्ना गराएका थिए ।

विसं २०७५ असोज १० गते पनि प्रधानमन्त्री ओलीका तर्फबाट सचिवालयका प्रतिनिधि तथा उनका प्रेस संयोजक चेतन अधिकारीले सिरहाको उक्त विद्यालयमा पुगी ती विद्यार्थीलाई सहयोग गरी उनीहरुको पढाइ र अन्य स्थिति बुझेका थिए । संयोजक अधिकारीले कल्याणपुरका दुई विद्यार्थीको पढाइ र पारिवारिक अवस्था बुझी प्रधानाध्यापक लालदेव शाहमार्फत स्टेनशरी र पोसाक खर्च प्रदान गरेका थिए । सचिवालयका तर्फबाट त्यसअघि मुगुमा भर्ना गरिएको विद्यार्थीबारे चासो दिई सहयोग गरिएको थियो ।

रामदुलारी माविमा भर्ना भएका पाँच वर्षीय पवन मल्लिक र छ वर्षीया रुपा खत्वेका बुबाआमा डोको र डालो बुन्ने काम गर्छन् । सोही विद्यालयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले भर्ना गर्राएका विद्यार्थी राहुल महरा पनि अध्ययनरत छन् । सो विद्यालयका प्रधानाध्यापक शाहले प्रधानमन्त्रीको सचिवालयले समयसमयमा रकम र स्टेशनरी पठाइरहेको र दशैँ खर्चसमेत पठाएको बताए ।

हाल विद्यालय जाने उमेरका विद्यार्थीको भर्नादर ९७ दशमलव ६ प्रतिशत छ । सरकारले घोषणा हुन बाँकी २० जिल्ला पूर्ण साक्षर गराउने तयारी गरेको छ । ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचमा सुनिश्चितता र सिकाइमा स्थायित्व’ भन्ने नाराका साथ सो वर्ष सञ्चालित पहिलो चरणको भर्ना अभियानमा विद्यालयबाहिर रहेका कक्षा १ देखि ५ ९५ देखि ९ वर्ष उमेर समूहका० अठासी हजार २०७ मध्ये छयहत्तर हजार ६५७ विद्यार्थी भर्ना भएका थिए ।