Swornakshar Logo

नागढुंगाको जामका कारण बसभित्रै आमाको काखमा बिरामी छोराको निधन

१० असोज । काठमाडौं । रौतहटको गौर नगरपालिका ७ का ३५ वर्षीय रूपलाल शाहको गाडीभित्रै आफ्नी आमाको काखमा निधन भएको हो । शाह मिर्गौलाका बिरामी थिए । शुक्रबार त्रिभुवन राजपथमा भएको सडक जामका कारण उनि समयमा अस्पताल पुग्न नसकेपछि निधन भएको हो । लामो जाममा करिब १२ घण्टाभन्दा बढी समय कुर्नु पर्दा बिरामीको निधन भएको बताइएको छ ।

दुवै मृगौलाले काम गर्न छोडेपछि उनलाई डायलासिस गर्नका लागि काठमाडौं ल्याइँदै थियो । रौतहटबाट काठमाडौं आउँदै गरेको ना ७ ख ५३६४ नम्बरको बसमा थाक्रे गाउँपालिका–२, हुलाकडाँडास्थित राजमार्गमै मृगौला रोगी शाहको निधन भएको महादेवबेंसी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बाबुलाल श्रेष्ठले बताए ।

त्रिभुवन राजपथमा सडक मर्मत तथा ठूला सवारीसाधनले आवागमनमा बाधा पुर्‍याएका कारण दैनिक रूपमै जाम हुने गरेको छ ।

एम्बुलेन्समा ल्याउन पैसा अभाव भएपछि शाहलाई रात्रिबस चढाएर ल्याइँदै थियो । प्रहरीका अनुसार शाहको शव बाटोबाटै रौतहट लैजाने तयारी भइरहेको बताइएको छ ।