Swornakshar Logo

‘फिफा बर्ष खेलाडीको उपाधि मेस्सीलाई, महिलातर्फ मेगान उत्कृष्ट

७ असोज । काठमाडौं । फिफा सर्वोत्कृष्ट बर्ष खेलाडी अवार्ड अर्जेन्टिना एवं बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा) ले सन् २०१९ को फिफा ‘द बेस्ट अवार्ड’ सोमबार राति मेस्सीलाई प्रदान गरेको हो ।

सोमबारराति इटालीको मिलानमा आयोजित विशेष समारोहमा अर्जेन्टिनी फुटबल स्टार मेस्सीलाई फिफा ‘प्लेअर अफ दी इअर’ २०१९ को पुरुषतर्फको उपाधि
प्रदान गरिएको हो ।

मेस्सीले अवार्डको अन्तिम मनोनयनमा परेका प्रतिस्पर्धी पोर्चुगल तथा युभेन्ट्सका स्टार क्रिस्टयानो रोनाल्डो र नेदरल्यान्ड्स तथा लिभरपुलका स्टार भर्जिल भान डाइकलाई पछि पार्दै यो उपाधि हात पारेका हुन् ।

मेसीले २०१८–२०१९ को सिजनमा बार्सिलोनालाई ला लिगाको उपाधि दिलाएका थिए । सो क्रममा उनले ५० खेल खेल्दा ५१ गोल गर्नुका साथै २० गोलका लागि पास उपलब्ध गराएका थिए ।

उनी ला लिगा र युरोपियन च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्तासमेत बनेका थिए । मेसी यो उपाधि सबैभन्दा धेरै पटक जित्ने फुटबलर समेत बनेका छन् । उनीपछि पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले ५ पटक यो उपाधि जितेका छन् ।

अवार्ड घोषणा कार्यक्रममा मेसी पत्नी र २ छोरासहित गएका थिए । उपाधि जितेपछि बोल्दै मेसीले आफूलाई यसको हकदार बनाउनेप्रति आभार प्रकट गरेका थिए । उनले उपलब्धि आफ्नो टोलीको योगदानका कारण सम्भव भएको बताए ।

महिलातर्फको उपाधि अमेरिकी फुटबलर मेगान रापिनोले जितेकी छन् । उनले अमेरिकालाई यसै वर्षको महिला विश्वकप फुटबलको उपाधि दिलाएकी थिइन् ।