Swornakshar Logo

आत्मक्रान्ति र शुद्धिकरणमा जोड देऊः नेकपालाई ताओको सुझाव

६ असोज । काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले नेपालका कम्युनिस्टसँग वैचारिक छलफल गर्न हिमाल पार गरेर आएको बताएका छन् । सोमबार काठमाडौँको होटल याक एन्ड यतीमा नेपाल कम्युनिस्ट पार्टी (नेकर्पा)ले आयोजना गरेको प्रशिक्षण क्रममा विदेश विभाग प्रमुख ताओले नेकपाले जबज र २१ औँ शताब्दीको जनवाद शान्तिपूर्ण रुपान्तरणको बाटो भएको बताए ।

उनले थपे, ‘केही वर्ष यता नेकपाले पनि जबज र २१ औँ शताब्दी को जनवाद भनेको छ, यो शान्तिपूर्ण रुपान्तरणको बाटो नै हो । सी विचारले पनि शान्तिपूर्ण विकास गर्दै जनतालाई अगाडि बढाउछ।’

विदेश विभाग प्रमुख ताओले नेकपालाई आफ्नो क्षमता बढाउन र शुद्धिकरणमा जोड दिन सुझाव दिए । उनले भने ‘हामी आत्मक्रान्ति र शुद्धिकरण चाहन्छौं, कम्युनिस्ट पार्टी र अरुमा फरक के छ भने यसले जनताको हितमात्र हैन आफ्नो क्षमता बढाउने र शुद्धिकरणमा जोड दिन्छ ।’

नेपाल विशेषतायुक्त भूराजनीतिक क्षेत्र भएका कारण आफूहरु बीरआरआई प्रोजेक्ट लिएर आएको विदेश विभाग प्रमुख ताओको भनाइ थियो । ‘नेपाल साउथ एसियामा विशेषतायुक्त भू–राजनीतिक क्षेत्र हो’, विदेश विभाग प्रमुख सोङले भने, ‘त्यसैले हामीहरु बीआरआई पोजेक्ट लिएर आएका हौँ।’

उनले चीन काठमाडौँमा आएर सिकाउन र सँगै काम गर्न तयार रहेको बताए। ‘हामी समावेशी र आपसी हितयुक्त काम गर्नेछौँ । सी जिनपिङले नेपालसँग हातमाहात मिलाएर काम गर्न चाहन्छन्,’ उनले भने ।