Swornakshar Logo

‘मेयरको संलग्नतामा १० करोड खर्चेर हत्या गरेको आरोप

५असोज । काठमाडौं । गत ५ असारमा सर्लाहीको लालबन्दी नगरपालिका–१ का कुमार पौडेलको ‘इन्काउन्टरमा परि मृत्यु भएको थियो । परिवारले उक्त घटनालाई दोहोरो भिडन्त नभइ कुटपिट गरि हत्या भएको बताउदै आएको छन् । साथै परिवारले दोषीलाई कारवाहीको माग गर्दै हत्याको सत्य, तथ्य छानबिन गर्न सरकारसँग माग गरेको छ ।

आइतवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पीडित परिवारले यस्तो माग गरेको हो । सही छानबिन नभए आफूहरु कडा रुपमा प्रस्तुत हुने पनि पीडित परिवारले चेतावनी दिएको छ ।

हरिकृष्ण पौडेलले आफ्नो दाइको हत्या भएको तीन महिना बितिसक्दा पनि राष्ट्रिय मानवअधिकार आयोगले घट्नाको सत्य, तथ्य पत्ता लगाई प्रतिवेदन सार्वजनिक नगरेको भन्दै दुखेसो पोखे ।

सागरनाथ वन विकास परियोजनामा बसेका सुकुम्बासीको हितमा आवाज उठाउँदा र पेट्रोल पम्पका लागि सरकारले खरिद गरेको जग्गामा भएको घोटालाको विषयलाई जोडदार रुपमा आवाज उठाउँदा उनले आफ्ना दाइ कुमारलाई सरकारले निशाना बनाएको आरोप समेत लगाए ।

उनले सरकारले १८ देखि १९ करोडको जग्गा घोटाला गरेको र सुकुम्बासीको जग्गामा पार्टीहरु मिलेर २१ करोडको जग्गा कब्जा गरेको दाबी पनि गरेका छन् ।

उनले आफ्नो दाइको हत्या गर्न बागमती नगरपालिकाका मेयर भरतकुमार थापा, श्याम परदेशी र सागरनाथ वन परियोजनाको मिलेमतो रहेको बताएका छन् । उनीहरुले दाइको हत्या गर्न १० करोड समेत खर्च गरेको बताए ।

कुमारलाई हत्या गरेर मार्नुपर्छ भनेर सरकारसामू डेलिगेशन आउनेमा भरतकुमार थापा, श्याम परदेशी, सागरनाथ परियोजनाका प्रतिनिधि, प्रदेश सांसद डिल्ली उप्रेती, बसन्तराज भट्टराई, कमल बुढाथोकी र ढाचा वाग्ले रहेको पनि उनको दाबी छ ।

उनले आफ्नो दाइको दोहोरो भिडन्तमा नभई सरकारले खासगरी गृह मन्त्रालयले सुनियोजित ढंगले हत्या गरेको आरोप लगाए । उनले भने, ‘यदि दोहोरो भिडन्तमा मारिएको थियो भने दाइको शरिरमा गोली लागेको हुनुपर्ने थियो, तर उहाँले लगाएको लुगामा गोली लागेको थिएन ।’

प्रतिवेदनमा ६ वटा गोली लागेको भन्ने उल्लेख गरेको छ तर मृतकको शरीरमा १५ गोली लागेको उनको दाबी छ । उनले भने, ‘हामीलाई दाइको लास जबर्जस्ती जिम्मा लगाइयो, राष्ट्रिय मानवअधिकार आयोगले कुनै पनि न्याय दिलाउन सकेन, न्याय माग्न आयोगको ढोकामा जाँदा अपमानित भयौं ।’

कार्यक्रममा मृतककी श्रीमती कला पौडेलले सरकारले आफ्नो श्रीमानको हत्यालाई दोहोरो भिडन्त भने पनि गैरन्यायिक हत्या भएको दाबी गरिन् । उनले श्रीमानलाई ‘इन्काउन्टरमा नभएर कुटपिट तथा शरीर थिलथिलो बनाएर नियन्त्रित बनाई हत्या गरेको बताइन् ।

कार्यक्रममा मृतककी आमा दुर्गादेवी पौडेलले भनिन्, ‘तीन छोरीपछिको एक मात्र छोरा थियो, त्यसलाई पनि सरकारले योजनाका साथ मारिदियो, मेरो बाँच्ने साहारा खोस्यो ।

छोराको हत्या भएको समयमा १३ हजार मलामी देख्दा मेरो एक मात्र छोरा होइन रहेछ, मेरा छोराहरू त धेरै रहेछन् जस्तो लागेको थियो, किनकि त्यतिबेला सबैले हत्यारा पत्ता लगाउन हामी सहयोग गर्छौं भनेर आशा देखाएका थिए । तर, आज ती कुनै पनि छोराहरूले मलाई यो न्यायको लडाइमा साथ दिन आएनन् ।’

उनले भनिन्, ‘म ७० वर्षको बृद्ध कहाँ जाऊँ को सँग न्याय मागौँ आज म न्यायका लागि न्यायको भीख माग्दै यहाँसम्म आएको छु । मलाई न्याय चाहियो ।’ उनले न्याय नपाए आफू राष्ट्रिय मानवअधिकार आयोगको ढोकामा गएर मर्न तयार भएको बताइन् ।