Swornakshar Logo

ओम अस्पतालमा डाक्टरको लापरबाहीले एक महिलाको मृत्यु

५ असोज । काठमाडौं । ओम अस्पतालमा पत्थरीका सामान्य बिरामी भर्ना हुने र शल्यक्रियापछि मृत्यु हुने शृंखला जारी नै छ । राजधानीको चाबहिलस्थित ओम अस्पतालमा उपचारको क्रममा एक महिलाको मृत्यु भएको छ ।

धादिङकी गंगाजमुना गाँउपालिकाकी २९ वर्षीया अनिता गुरुङको पत्थरीको शल्यक्रियापछि मृत्यु भएको हो ।
मृतकका आफन्तहरुले चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप लगाएका छन् ।

गुरुङलाई पत्थरीको शल्यक्रिया गर्नु पर्ने भनेपछि उनी शुक्रवार दिउँसो हिँडेरै अस्पताल पुगेकी थिइन् । चिकित्सकहरूले शनिबार पत्थरी निकाल्न शल्यक्रिया गरेका थिए ।

शल्यक्रियापछि गुरूङको अवस्था सामान्य भएको भन्दै वार्डमा सारिएको थियो । तर, चिकित्सकले अवस्था सामान्य भनेको ६ घण्टा बित्न नपाउँदै उनको मृत्यु भएको मृतकका आफन्तहरुले बताए ।

यता अस्पताल प्रशासनले भने हृदयघातका कारण गुरुङको मृत्यु भएको दाबी गरेको छ । आफन्तहरुले भने चिकित्सकले उपचारमा लापरबाही गरेका कारण अपरेशनपछि बिरामीको मृत्यु भएको भन्दै शनिबार अस्पतालमा आन्दोलन समेत गरेका थिए ।

केही समय पहिला ओम अस्पतालमै पत्थरीको अपरेशनको क्रममा आन्द्रा काटिदा सिन्धुपाल्चोक घर भएकी एक महिलाको मृत्यू भएको थियो ।

उपचारका क्रममा ओम अस्पतालमा यस्ता खालको घटना पटक पटक दोहोरिँदै आएको छ ।