ताजा अपडेट
समाचार

अब हवाई सेवामा पनि अग्रिम टिकट बुकिङ्ग, भाडामा १० प्रतिशत छुट

अब हवाई सेवामा पनि अग्रिम टिकट बुकिङ्ग, भाडामा १० प्रतिशत छुट

५ असोज । काठमाडौं । वायुसेवा सञ्चालकहरुको छाता संगठन वायुसेवा संचालक संघ, नेपाल (एओएएन) ले हवाई भाडामा विशेष छुटसहित अग्रिम बुकिङ्ग खुल्ला गरेको छ । संघले दशैं, तिहार र छठलाई लक्षित गर्दै हवाई सेवामा पनि विशेष छुटसहित अग्रिम टिकट बुकिङ्ग खुल्ला गरेको हो ।

आगामी असोज १२ गतेदेखि कार्तिक २७ गते सम्म संघले सबै आन्तरिक (डोमेस्टिक) उडानतर्फका आफ्ना नियमित उडान सेवामा नेपाली नागरिकहरुलाई हवाई भाडामा १० प्रतिशत छुट दिने बताएको छ ।

उक्त छुट सामान्य हवाई भाडामा एयरपोर्ट ट्याक्स तथा फ्यूल सरचार्ज बाहेक १० प्रतिशत छुट दिने संघद्धारा जारी विज्ञप्तिमा बताइएको छ ।

दशैं, तिहार र छठकै लागि वायुसेवा संचालक संघले टिकटदेखि आन्तरिक उडानका सबै खाले व्यवस्थापन मिलाइसकेको संघका प्रवक्ता योगराज पौडेल शर्माले बताए ।

यात्रुको चापलाई हेरी थप उडान भर्न सक्ने गरी ६० देखि ७२ सिट क्षमताका ५ जहाज समेत तयारी अवस्थामा राखेका छौं ।’ शर्माले भने, ‘बसको टिकट बकिङ्गको अवस्थालाई हेरेर हवाई सेवामा प्रभाव पर्ने हो । बसको टिकट सकिएपछि वायुसेवामा एक्कै चोटी चाप बढ्न सक्छ ।’

शर्माका अनुसार देशका अधिकांश क्षेत्रमा सडकमार्ग पुगिसकेको अवस्थामा त्यस्तो समस्या नआउने तर कर्णालीमा भने गत वर्षहरुमा जस्तै यस वर्ष पनि समस्या आउन सक्ने बताएका छन् । त्यसका लागि संघ पूर्वतयारी अवस्थामा रहेको उनले बताए ।

भाडा छुटको विषयमा भने, संघले दिएको १० प्रतिशत छुट बाहेक अन्य कुनै पनि छुट नदिएको शर्माले बताए । गत हप्तामात्र नेपाल वायुसेवा निगम (एनएसी) ले ७० वर्ष माथिका वृद्धवृद्धालाई हवाई भाडामा ५० प्रतिशतको छुट दिने घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…