Swornakshar Logo

समाजवादबारे एउटै मञ्चमा घनश्याम भुसाल र प्रचण्डको सवाल जवाफ

२१ भदौ । काठमाडौं । राजधानीमा भएको पुस्तक विमोचन कार्यक्रममा सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्ड र स्थायी समिति सदस्य घनश्याम भुसालबीच भएको छ । उक्त सवाल जवाफले कार्यक्रमलाई खुब रोमाञ्चक बनाएको थियो । कार्यक्रममा प्रचण्ड भन्दा पहिला आफ्ना कुरा राखेका नेता घनश्याम भुसालले नेकपा अध्यक्ष प्रचण्डमाथि प्रश्न गरेका थिए ।

सम्पूर्ण प्रतिक्रियावादीहरुलाई एक्ल्याउँदै समाजवादी क्रान्ति अघि बढाउने कुरा आजको दायीत्व भएको भुसालले बताए । उनले भने ‘क. प्रचण्ड तपाई आज असाध्यै झन्झटपूर्ण इतिहासको श्रृङ्खलाबाट यहाँ आउनुभएको छ । तर, अझै धेरै बाँकी छ, कमरेड यो किताब लेखिन्छ की लेखिँदैन ? म यो प्रश्न अहिले यहाँ राख्न चाहन्छु ।’ नेता भुसाल यतिमै रोकिएनन् । उनले भने–‘यी सबै कुरालाई के ले नियन्त्रित गर्छ भन्दा, त्यो राजनीति नै हो । तर, राजनीति के भयो भन्दा, देश कस्तो छ, दलाल पूजीँवादी छ । यो पूजीँवादको निरन्तरता चुनावले पाउँछ । प्रजातन्त्र लोकतन्त्रका नाममा दलाल पूजीँवादले ठाउँ जमायो । किनभने पैसा नभई चुनाव लड्न मिल्दैन् । पैसा हुनेहरुले चुनाव लड्छन् । किन चुनाव लड्छन् भन्दा पद लिनका लागि । पद किन भन्दा अझै धेरै पैसा कमाउन ।’ बढी पैसा र ठूलो पदको दुस्चक्र मेटिएन भने नेपाल समाजवादमा जाने नजाने उनले आशंका गरे ।
उनले प्रचण्डलाई प्रश्न गरे–‘दलाल पूजीँवादले आफूलाई जसरी पुनः उत्पादन गरिरहेका छ, क्रान्तिले किन पुनः उत्पादन गरिरहेको छैन ? के कारणले क्रान्ति लरखराइरहेको छ ? के कारणले क्रान्ति प्रष्ट हुन सकेन ? हामीले के गर्योभने क्रान्ति हुन्छ भन्ने विषयको किताब लेखिन्छ की लेखिँदैन ? हामी त्यसतर्फ जान्छौं की जाँदैनौं कमरेड प्रचण्ड ? हामी त्यसतर्फ जान्छौं की जाँदैनौं ।’
अध्यक्ष प्रचण्डले भने–‘घनश्याम जी, तपाँइले भन्नुभयो, तपाँईसंग मैले धेरै मञ्चमा छलफल गरेको छु र भनेको छु, समाजवादको झण्डा झुक्न दिइने छैन् । पूजीँवादका अगाडी घुँडा टेकिने छैन् ।’
उनले अगाडि भने–‘हामी संगै छौं, आउने दशकमा सगरमाथाबाट समाजवादको नयाँ झण्डा फहराउने इच्छा छ । यसमा जो लामबद्ध हुन तयार हुनुहुन्छ, हेर्दै जानुहोस, मलाई विश्वास छ, नेपालको र नेपाली क्रान्तिको भविष्य उज्वल छ ।’ क्रान्ति र हिजो देखेका सपनाहरु सफल पार्न सम्भव भएको भन्दै अध्यक्ष दाहालले पुनः लेखक ढकाललाई बधाई तथा शुभकामना दिएर बिदा भए ।