Swornakshar Logo

काठमाडौँलगायत देशभर डेङ्गुकाे उपचार निःशुल्क गर्न निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई डेङ्गु परीक्षण तथा उपचार गर्न आउने बिरामीसित शुल्क नलिन निर्र्देशन दिएको छ ।

पछिल्लो समय काठमाडौँलगायत देशभर सो रोग प्रकोपका रुपमा नै देखापर्न थालेपछि सरकारको एक मात्र ट्रपिकल तथा सरुवा रोग उपचार गर्ने सो अस्पताललाई मन्त्रालयले आज सो निर्देशन दिएको हो । अस्पतालका अनुसार अहिले अस्पतालमा २४ जना सो रोगका बिरामी उपचारत छन् ।

स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले अस्पतालको आज निरीक्षणका क्रममा सेवा लिन अस्पतालमा आउने बिरामीलाई बिना झञ्झट निःशुल्क सेवा दिन र यहाँ आएका बिरामीलाई अन्यत्र ‘रिफर’ नगर्नसमेत निर्देशन दिनुभयो ।

सो अवसरमा उहाँले डेङ्गु रोगलगायत अन्य रोगका उपचाररत बिरामीलाई भेट गरी सेवाका बारेमा जानकारीसमेत लिनुभएको थियो । अस्पतालमा आज मात्र ५२२ जनाले डेङ्गु रोगका बारेमा परीक्षण गराएको निर्देशक चिकित्सक वासुदेव पाण्डेले जानकारी दिनुभयो । रोगको परीक्षण गर्ने वृद्धि भएसँगै अस्पतालले परिसरमा डेङ्गु हेल्थ डेस्क स्थापना गरी सेवालाई अझ सहज बनाएको छ ।

उहाँले भन्नुभयो, “अस्पतालले आजबाट छुट्टै ‘फिबर क्लिनिक’ समेत सञ्चालनमा ल्याएको छ । सो क्लिनिकमा ज्वरो आएका बिरामीलाई छुट्टै कोठामा राखी विशेष जाँच गर्न शुरु गरेका छौँ ।”