Swornakshar Logo

पशुपति घुम्न जान्छु भनेर गएका पुरुष र एक महिलाले गरे आत्महत्या

 खोटाङका एक महिला र पुरुषले आज बिहान काठमाडौँ महानगरपालिका–८ गौशालास्थित भण्डारखालको जङ्गलमा आत्महत्या गरेका छन् ।

खोटाङको दित्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० घर भई काठमाडौँको बाँसबारी बस्दै आएका ४० वर्षीय जय गिरी र खोटाङको टेम्मा गाउँ बस्ने ३३ वर्षीया उमिता दमाइँ आज बिहान सँगै रुखमा झुण्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी निरीक्षक खेम राउतले जानकारी दिनुभयो ।

भ्रमणमा निस्किएका स्थानीयवासीले दिएको सूचनाका आधारमा घटनास्थल पुग्दा उनीहरु झुण्डिएको अवस्थामा मृत फेला परेको गौशाला प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक राउतले चिकित्सक बोलाएरै घटनास्थलको प्रकृति मुचुल्का उठाई दुवै शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको जानकारी दिनुभयो । उनीहरु दुवै जना खोटाङ कारागार बसेर निस्किएको बुझिएको छ ।

बाँसबारीमा परिवारसँगै बस्दै आएका गिरी मजदूरी गर्दथे । आज बिहान उनकी श्रीमती र छोरा प्रहरीको सम्पर्कमा आएका थिए । गिरी सोमबार बेलुका पशुपति घुम्न जान्छु भनेर निस्किएको श्रीमतीको भनाइ उद्धृत गर्दै प्रहरी निरीक्षक राउतले बताउनुभयो ।