Swornakshar Logo

नेपाल साफ च्याम्पियनसिपको फाइनलमा, फाइनलमा भारतसंग भिड्ने

१२ भदौ । काठमाडौं । नेपाल साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । लिगचरणको अन्तिम खेलमा नेपालले भुटानलाई ६–० को फराकिलो अन्तरले पराजित गरेसंगै नेपाल यु–१५ साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको हो ।

नेपाललाई जित दिलाउन कप्तान प्रदिप लम्साल (कप्तान) ले दुई गोल गरे भने अशिम राई, सुगम जिमी, क्रिस सापकोटा र निराजन खत्रीले एक–एक गोल गरेका थिए ।

उक्त खेलमा नेपाललाई फाइनलसम्मको यात्रा तय गर्न आफ्नो जितमात्र पर्याप्त थिएन । भारत र बंगलादेशबिचको खेलको नतिजा पनि कुर्नुपर्ने थियो । अंकतालिकाको तेस्रो स्थानमा रहेको बंगलादेशलाई भारतले ४–० ले पराजित गरेपछि नेपालले फाइनल खेल्ने पक्का भएको हो । बंगलादेशलाई हराउंदै भारत पनि फाइनल खेल्ने भएको छ ।

उपाधिका लागि नेपाल र भारत एक अर्काको सामना गर्नेछ । भारतविरुद्धको लिग चरणको खेलमा नेपालको लज्जास्पद हार भएको थियो । पहिलो खेलमै भारतको सामना गरेको नेपालले ५–० को अन्तरले हार बेहोरेको थियो । त्यसैले फाइनलमा भारतलाई जित निकाल्न त्यति सहज भने हुने छैन ।

पहिलो हारपछि लगातार जित निकालेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रिनेछ ।