Swornakshar Logo

लागूऔषध बिरुद्ध राम्रो नीति बनाउनमै चुक्यौ–मन्त्री जमकट्टेल

५ भदौ । हेटौंडा । प्रदेश नं. ३ का आन्तिरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेलले लागूऔषध बिरुद्ध राम्रो नीति बनाउन सरकार चुकेको बताए ।
आज प्रदेश नं. ३को गृहमन्त्रालयको लागूऔषध नियन्त्रण शाखको आयोजना तथा जिल्ला प्रशासन कार्यालय मकवानपुरको समन्वयमा लागू औषध दुरुपयोग अबैध ओसारपसार विरुद्ध सरोकारवालाहरुलाई अभिमुखी कार्यक्रममामा मन्त्री जम्मकट्टेलले जुन क्षेत्रको हामीले निति बनाँउछौ त्यो क्षेत्रको प्रभावित वर्ग समुहलाई हेरेर निति बनाउनुपर्ने बताए।

नीति तयार गर्दा पहिलो कुरा तथ्य र कुन जिल्लामा लागू गर्ने हो चनाखो हुनुपर्ने र त्यो नीतिले कस्तो कस्तो व्यक्तिलाई प्रभाव पार्छ भन्ने कुरामा ध्यान दिनुपर्ने मन्त्री जम्मकट्टेल बताए । लागूऔषधको निति बनाउने सन्दर्भमा लागु औषधको प्रयोगकर्ता, उत्पादन हुने क्षेत्र लगायतको तथ्यहरु आवश्यक रहेको बताए ।


लागूऔषध उत्पादन गर्ने किसानहरुको फडानीमात्र गरेर भएन उनिहरुलाई जिविकोपार्जन हुने खालका कुराको पनि वैकल्पिक सल्लाह तथा तालिमको व्यवस्था समेत गर्नुपर्नेमा उनले जोड दिए । लागूऔषधमा फसेका व्यक्तिहरुको लागि समेत पुर्नस्थापना केन्द्र निशुल्क हुनुपर्ने बताउँदै उनले भने ‘लागूऔषधबाट फसेकाहरुलाई पुर्नरस्थापना गर्नु राज्यको दायित्व हो त्यसैले यसमा ध्यान दिनुपर्छ ।’
कार्यक्रममा विभिन्न सरोकारवाला निकायका व्यक्तिहरुले लागूऔषधमा भरीयामात्र पक्राउ पर्ने तर उनिहरुलाई लागूऔषध बोकाउने व्यक्ति भने सधै बचिरहने त्यसमा समेत सरकारको ध्यान जान जरुरी रहेको बताएका थिए । लागूऔषधका कारोबारीहरु अझै पनि पक्राउ नपर्ने गरेकोमा सहभागिहरुले आपत्ति जनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंले मकवानपुरमा पाँचवटा पुर्नस्थापना केन्द्र रहेको र केन्द्रमा दुईसय ४ जना उपचाररत रहेको जानकारी गराए । त्यस्तै हाल मकवानपुरमा करिब पाँच हजारको बराबरीमा लागु औषध प्रयोगकर्ता र सातसय सिरीन्ज प्रयोकर्ता रहेको बताए ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा भएको कार्यक्रममा गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद दुवाडी, मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, उप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना लामा, भिमफेदी गाँउपालिकाका प्रमुख हिदम लामा, राक्सिराङका प्रमुख राजकुमार मल्ल, कैलाशका टंक मोक्तान, ईन्द्रसरोवरका प्रमुख जिवन लामा, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा शाखाका प्रमुख झंकनाथ ढकालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।