Swornakshar Logo

बालुवाटारमा केपी ओली र माधव नेपालबीच भना भन

५ भदौ । काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बिहीबारको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपालबीच भना भन भएको छ ।

ओली दोस्रोपटक सिंगापुर जानुअघि नेकपाको सचिवालय बैठक विहिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । बैठक बिहीबार बिहान आठ बजेका लागि तय थियो । तर बैठक शुरु भयो साढे दश बजेतिर ।

बैठकमा आठ नेता सहभागी थिए । वरिष्ठ नेता झलनाथ खनाल चिन गएका छन् । आजको बैठक सुरु हुनु भन्दा पहिला प्रसंग आयो– राजेन्द्र गौतमको । पार्टीका केन्द्रीय सदस्य तथा प्रेस संगठनका इन्चार्ज राजेन्द्र गौतमले बुधबार दिउँसो ३ बजे फेसबुकमा ‘एक व्यक्ति एक पदः बहुकेन्द्र निर्माण र अस्थिरताको जड’ भनेर स्ट्याटस लेखेका थिए ।

माधवकुमार नेपालले सचिवालयको बैठक शुरु हुनासाथै ‘राजेन्द्र गौतमलाई कारवाही गर्नुपर्छ’ भन्ने प्रस्ताव अघि सारेको कुरा नेता नेपाल निकट एक नेताले बताए । त्यसपछि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले त्यस प्रस्तावको प्रतिवाद गरे । उनले भने “ तपाईंले पनि मेराविरुद्ध बुधबारमा केके लेखाउनुभएको छ त ?”

त्यसपछि बैठकमा दोस्रो विषयले प्रवेश पायो । प्रधानमन्त्री ओलीले भने, “मेरो उपस्थितिमा अध्यक्ष प्रचण्डले बैठक सञ्चालन गर्न सक्नुहुनेछ । म बाहिर भए पनि केही फरक पर्दैन, टेलिफोनमा सम्पर्क भइहाल्छ । पार्टी निर्णयमा मेरो पनि सहमति चाहिन्छ । सहमतिकै आधारमा सबै निर्णय गरौं ।” अघिल्लो दिन आफ्नो असहमतिका बीच पनि सचिवालयले जनसंगठनको इन्चार्ज सहइन्चार्ज चयन गरेको र आफु निकट चार जना नेतालाई सचिवालयमा ल्याउने प्रस्ताव बेवास्ता गरेकोमा असन्तुष्ट बनेका नेपाल थप रुष्ट बने । उनले प्रतिवाद गरे, “किन सहमति पार्टीको जे विधि छ, त्यही अनुरूप निर्णय हुन्छ ।”

नेपालले पहिले देखि हुदै आएका निर्णय पनि बहुमतको आधारमा हुने भएकाले यस्तो भनेका थिए । ओलीले भने “म पार्टी अध्यक्ष हुँ । मेरो सहमति बेगर निर्णय हुँदैन, ।” “सचिवालयका सबै नेताको हैसियत बराबरी छ,” नेपालले तत्कालै प्रतिवाद गरेको एक नेताले बताए ।

नेताहरुबीच भनाभन भएपछि महासचिव विष्णु पौडेलले ‘आजको बैठकले उपचारका लागि जान लाग्नुभएका अध्यक्ष ओलीको स्वास्थ्यलाभको कामना गरौं’ भनेर विषयान्तर गरे । त्यसपछि नेता नेपालले पनि प्रधानमन्त्री ओलीलाई स्वास्थ्य लाभको कामना गरे । तर ओली आक्रोसित थिए । उनले भने, “तपाईंको स्वास्थ्य लाभ चाहिँदैन । तपाईं मेरो स्वास्थ्य लाभ पनि चाहनुहुन्छ । बरु ‘अर्कै’ कामना गर्दै हिँड्नु भएको छ ।”

त्यसपछि नेपालले छानबिनको माग गर्दै भने, “त्यस्तो निकृष्ट मान्छे होइन म । म त्यस्तो कल्पना गर्न सक्दिनँ ।” अध्यक्ष र वरिष्ठ नेताबीच विवाद चर्किएपछि प्रचण्ड, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले ओलीलाई सम्झाएका थिए । बैठकमा सहभागी नेताले भनेका थिए, “तपाईंले त्यसो गर्न हुँदैनथ्यो, स्वास्थ्य लाभको कामना भनिसकेपछि त्यसलाई स्वीकार्नुपर्थ्यो ।”

आजै प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् ।