Swornakshar Logo

पूर्वराजा र विप्लवबारे छलफल गर्दै सर्वदलीय बैठक, बैठक बुधबार साँझ पुनः बस्ने

३ भदौ । काठमाडौं । पूर्वराजा र विप्लवबारे छलफल गर्दै बसेको सर्वदलीय बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाह र विप्लव समूहको गतिविधिबारे छलफल भएको छ । देशको राजनीतिलाई अस्थिर बनाउन पूर्वराजा र विप्लव समूहले चलखेल गरेको भन्दै मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा त्यसप्रति सचेत हुनुपर्ने विषयमा नेताहरुले छलफल गरेका हुन् ।

छलफलमा सहभागी नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘यसलाई गम्भीररुपले हेर्दै मिलेर यस्ता शक्तिको सामना गर्ने विषयमा सबै दल एकमत हुने निर्णय गरियो ।’राज्यलाई कमजोर पार्ने र व्यवस्था नै उल्ट्याउने गरी ‘ षड्यन्त्र’ तथा प्रहार’ भइरहेकाले सरकार र सबै दल यसप्रति सचेत हुनुपर्ने कुरा दलका नेताहरुले राख ।

संविधान कार्यान्वयनका क्रममा केही चुनौती देखिएको र सबै दल तथा नेताहरुले एकजुट भइ त्यसको सामना गर्नुपर्नेमा समेत श्रेष्ठले जोड दिएका थिए । ‘संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रमाथि नै प्रहार हुँदा संविधान कार्यान्वयनमा केही चुनौती देखिएका छन्,’ सबै दल एकजुट भइ यस्ता चुनौतीलाई सामना गर्ने निर्णय भएको छ ।

मुलुकमा देखिएका समस्या र चुनौतीबारे छलफल गर्न प्रधानमन्त्रीले एक वर्षपछि सर्वदलीय बैठक बोलाउनु सकारात्मक भएको नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रतिक्रिया दिए ।

बैठकमा कांग्रेससँग सहमति गरेर मात्र विभिन्न विधेयक अघि बढाउने प्रधानमन्त्री ओलीले संसदमा प्रतिबद्धता जनाएका नेता सिटौलाले बताए । ‘मिडिया काउन्सिल, मानवअधिकार, सुरक्षा परिषद्सँग सम्बन्धित विधेयकहरु कांग्रेससँग सहमति गरेर मात्र अघि बढाउने प्रतिबद्धता प्रधानमन्त्रीले जनाएको, सिटौलाले भने ।
प्रधानमन्त्रीले सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोग गठनसम्बन्धी छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीसहित नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल, उपप्रधानमन्त्रीसमेत रहेका स्कुल विभाग प्रमुख ईश्वर पोखरेल, नेता सुवासचन्द्र नेम्बाङ, गृहमन्त्रीसमेत रहेका नेकपा नेता रामबहादुर थापा ‘बादल’, प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठ, प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँड, केन्द्रीय सदस्यहरु कृष्णप्रसाद सिटौला र मिनेन्द्र रिजाल सहभागी थिए ।

यस्तै उपप्रधान एवं स्वास्थ्यमन्त्रीसमेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, अर्का अध्यक्ष बाबुराम भट्टराई, राजपाका नेता महन्थ ठाकुर, राजकिशोर यादवलगायत पनि बैठकमा थिए ।

पार्टीका विभाग प्रमुख चयनमा असन्तुष्टि जनाउँदै आएका नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल भने बैठकमा गएनन् ।

सर्वदलीय बैठक बालुवाटारमा बुधबार साँझ ५ बजे पुनः बस्ने नेताहरूले बताएका छन् ।