Swornakshar Logo

तीन दिन भारी वर्षाको सम्भावना

 मनसुनको न्यून चापीय रेखा औसत स्थानमा रहेकाले सो प्रभावले देशका अधिकांश स्थानमा मनसुनी वर्षा भइरहेको छ ।

हाल देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज विशेष बुलेटिन जारी गर्दै उक्त प्रणालीको प्रभावका कारण तीन दिन देशको अधिकांश स्थानमा मेघ गर्जनसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले त्यसबाट बच्न आवश्यक सतर्कता अपाउन अनुरोध गरेको हो ।

काठमाडौँ उपत्यकामा यस वर्ष मनसुन शुरु भएपछि सबैभन्दा धेरै वर्षा जुलाई १३ अथोत् असार २८ मा १०४ मिलिलिटर भएको थियो । यो मनसुन शुरु भएपछिको सबैभन्दा बढी वर्षा हो । ५० देखि १०० मिलिमिटर सम्मको वर्षालाई भारी र १०० देखि माथिलाई अतिभारी वर्षा भनेर मापन गर्नै गरेको मौसमविद्को भनाइ छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी जारी गदैँ देशको पूर्वी तथा मध्यपहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना औँल्याएको छ । चुरेबाट बहने नदीमा पानीको बहावमा आकस्मिक वृद्धि हुनसक्ने भएकाले नदी आसपासको बस्तीलाई सर्तक रहन तथा सडक यातायातमा पहिरो भूक्षयका कारण अवरोध आउन सक्ने भएकाले सो क्षेत्रमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउनसमेत अनुरोध गरिएको छ ।