Swornakshar Logo

समाजवादीका सांसद यादवले फिर्ता लिए राजीनामा

१ भदौ । काठमाडौं । समाजावादी पार्टीका सांसद सूर्यनारायण यादवले दिएको राजीनामा फिर्ता लिएका छन् । यादवले आफ्नो राजीनामा फिर्ता लिन सहमत भएको सांसद प्रदिप यादवले बताए । उनले साउन २७ गते स्वास्थ्यको कारण देखाउँदै सांसद पदबाट राजीनामा दिएका थिए ।

आज बसेको समाजवादी पार्टीको संसदीय दलको बैठकमा भएको छलफलअनुसार उनले दिएको राजीनामा फिर्ता लिएको सहमति जनाएको बताइएको छ । सप्तरी १ बाट चुनाव जितेका यादव आफू अस्वस्थ्य भएको भन्दै राजीनामा दिएपनि उनी पार्टीको क्रियाकलापबाट असन्तुष्ट भएर राजिनामा दिएका थिए ।

उनी सांसदमा जितेपनि उनको न पार्टीमा भूमिका थियो न संसदमा कुनै भूमिका थियो । यसैबाट असन्तुष्ट भएर उनले राजीनामा दिएको पार्टी स्रोतले बताएको छ ।

राजीनामा दिएपछि पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र डा.बाबुराम भट्टराईले सांसद यादवसँग कुरा गरेका थिए । दुईजनाले कुराकानी गरेपछि उनी राजीनामा फिर्ता लिन तयार भएको बताइएको छ ।

त्यसैले नागरिकता विधेयकको विषयमा समाजवादी पार्टीले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग छलफल गर्ने भएको छ । साथै, नयाँ शक्ति र संघीय समाजवादी फोरम नेपालबीच एकीकरणपछि संसदीय दल पनि समायोजन भएको जानकारी सभामुखलाई जानकारी गराउने निर्णय समेत बैठकले गरेको छ ।