Swornakshar Logo

सार्वजनिक विदा घोषणा गर्न मुख्यमन्त्री र मन्त्रीबीच तछाडमछाड

२९ साउन । काठमाडौं । सार्वजनिक बिदाको बिज्ञप्ति जारी गर्न प्रदेश नम्बर २ सरकारका मुख्यमन्त्री र बहालबाला मन्त्रीबीच तछाडमछाड देखिएको छ । रक्षा बन्धनको दिन बिहीबार सार्वजनिक विदाको घोषणा गर्न समेत उनीहरुले यस्तै व्यवहार देखाए ।

सार्वजनिक विदाका लागि केही क्षणको अन्तरालमा उनीहरुले विज्ञप्ति जारी गरे । हिन्दु धर्मावलम्बीहरुले मनाउने जनैपूर्णिमा एवम् रक्षाबन्धनको अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो।

रक्षाबन्धनको अवसरमा मुख्यमन्त्री लालबाबु राउत र आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले अलग–अलग प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

सरकारको तर्फबाट आधिकारिक ढंगले एउटा विज्ञप्ति जारी गरे पुग्नेमा मुख्यमन्त्री र मन्त्रीले प्रतिस्पर्धा गरेजसरी विदा घोषणा गरिनुलाई प्रदेश सरकारभित्र अस्वस्थ प्रतिस्पर्धा हुर्किरहेको अनुमान गर्न सकिन्छ ।