Bagmati Samachar Logo

सिंहदरबार हिरासतका कैदीसम्म पुग्यो ‘ह्याक्सो ब्लेड

२७ साउन । काठमाडौं । साउन २५ गते राती महानगरीय प्रहरी वृत्त सिंहदरबार हिरासतको डण्डी काटेर फरार भएका शुकलाल वाइवालाई काठमाडौंको जोरपाटीबाट पक्राउ गरेको छ ।

साथीको घरमा लुकेर बसेको अवस्थामा वाइवालाई महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले पक्राउ गरिएको बताए ।

उनलाई सहयोग गर्ने सहयोगीहरु रमेश सुनुवार र करण मोक्तानलाई पनि पक्राउ गरेर थप अनुसन्धान भइरहेको डीएसपी बोगटीले बताए ।

करण मोक्तान लागूऔषध मुद्दामा ६ वर्ष जेल सजाय भोगेर
निस्किएका व्यक्ति हुन् । करण र रमेश वाइवाका सहयोगी रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

वाइवासँगै सोही राती ४ जना हिरासतको डण्डी काटेर भागेका थिए । हिरासतको डण्डी काटेर भागे लगत्तै अनिल थापा र सुपा लामालाई प्रहरीले पक्राउ गरेको थियो । थापा लागुऔषध मुद्दामा जेल परेका हुन् भने वाइवा, लामा र अर्का फरार रहेका एकजना मोटरसाइकल चोरी मुद्दामा जेल परेका व्यक्ति हुन् ।

यसरी काटे हिरासतको डण्डीः

हिरासतको डण्डी काटेर भाग्ने ४ जनालाई आफ्नो परिवारले घरबाट खाना ल्याउने गर्थे । सो दिन बेलुका पनि उनीहरुलाई परिवारले खाना ल्याएर खान दिएका थिए ।

बेला–बेला करण र रमेश उनीहरुलाई भेट्न सिंहदरबार वृत्त पुग्ने गर्थे । भेटकै बेला यस्तो योजना बनाएको हुनसक्ने प्रहरीको अनुमान छ ।

२५ गते राती कैदीका आफन्तले खाना पुर्याउँदा खानाभित्र एक प्लेटले छोपेर ह्याक्सो ब्लेड राखेर दिएको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको डीएसपी बोगटीले बताए ।

यद्यपी चार कैदीमध्ये कुनको आफन्तले ल्याएको खानामा ‘ह्याक्सो ब्लेड’ हालेर ल्याइएको पुष्टि भएको छैन् ।

डीएसपी बोगटीले भने, ‘कोही थुनुवालाई आफन्तले खाना ल्याउने गर्छन् । खाना ल्याइसकेपछि खानाको बट्टा खोलेर हेरेपनि खाना चलाएर हेर्ने कुरा हुँदैन । त्यही मौकामा यस्तो घटना भएको हो ।’

हिरासतमा रहेका कैदीलाई आफन्तहरुले जाडो मौसममा व्ल्याङकेटलगायतका कपडाहरु समेत लगिदिने गर्छन् । सोही क्रममा त्यस्ता हतियार समेत घुसाउने गरेको पाइएको छ ।

तर प्रहरीले यस्ता घटना छिटपुट रुपमा भइरहने भएको भन्दै यसलाई रोक्न अन्य उपाय अपनाइने जनाएको छ ।

२४ असारमा ललितपुरको भैंसेपाटी प्रभागको हिरासतबाट पनि झ्यालको डन्डी काटेर तीन थुनुवा यसैगरी भागेका थिए । भैंसेपाटीबाट भागेका थुनुवाहरुले पनि बाहिरबाट ह्याक्सो ब्लेड हिरासतभित्र लगेर झ्यालको डन्डी काटेका थिए भने २५ असारमा सिंहदरबार वृत्तबाट म्याद थपका लागि उच्च अदालत लगिएका रामबोल खड्का अदालतको शौचालयबाटै भागेका थिए ।