Swornakshar Logo

डेंगुको संक्रमण फैलिँदै

२६ साउन । काठमाडौं । अहिले देशका मुख्य शहरहरुमा डेंगूको संक्रमण फैलिरहेको छ । धरान, पोखरा, हेटौडा लगायतका शहरमा फैलिएको लामखुट्टेको टोकाईबाट हुने डेंगू संक्रमण अहिलेसम्म नियन्त्रण आउन नसक्दा समस्या झन जटिल बन्दै गइरहेको छ ।

वैशाखबाट धरानमा फैलिएको डेंगू नियन्त्रणमा आउन सकेको छैन भने अन्य स्थानमा पनि सर्दै गइरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट उपलब्ध ५ वर्षको तथ्याङकलाई हेर्ने हो भने ८ हजार ३ सय १० जनालाई डेंगूको संक्रमण फैलिसकेको छ ।

आर्थिक वर्ष ०७०, ०७१ देखि ०७५, ०७६ सम्मको तथ्याङकमा सबैभन्दा धेरै संक्रमण आर्थिक वर्ष ०७५, ०७६ मा देखिएको छ । जसमध्ये ३ हजार ४ सय २५ जनामा डेंगू संक्रमण भएको महाशाखाको तथ्याङकले देखाएको छ । सबैभन्दा कम आर्थिक वर्ष ०७१, ०७२ मा १३४ जनामा डेंगू देखा परेको छ ।

यस्तै यो ५ वर्षको तथ्याङकलाई हेर्ने हो भने सबैभन्दा धेरै प्रदेश नं. १ मा डेंगू देखिएको छ । प्रदेश नं. १ मा ४ हजार १ सय ४५ जनामा संक्रमण फैलिएको थियो । ०७६ वैशाखदेखि साउन २२ सम्म पनि २८ सय भन्दा धेरै बिरामी सुनसरी जिल्लामा देखिएको छ ।

त्यस्तै प्रदेश न. २ मा ८ सय जना, प्रदेश न. ३ मा १ हजार २ सय ८२, गण्डकी प्रदेशमा ६ सय २९, प्रदेश न. ५ मा १ हजार ३ सय ३१, कर्णाली प्रदेशमा २८, सुदूरपश्चिम प्रदेश ८८ जनामामा डेंगू लागेको महाशाखाले जनाएको छ ।