Swornakshar Logo

स्वतन्त्र जीवन बिताउने प्रतिबद्धतापछि विप्लवका कार्यकर्ता रिहा

भद्रपुर । प्रतिबन्धित नेकपा विप्लव समूहका जिल्ला सचिवालय सचिव पुष्प अधिकारी आगामी दिनमा सो समूहमा नलाग्ने लिखित प्रतिबद्धता जनाएपछि विहीबार रिहा भएका छन् ।

मेचीनगर–१० घर भई हाल विर्तामोड–२ मा बस्दै आएका ४१ वर्षीय अधिकारी २५ दिनअघि काठमाडौँ जान लागेको अवस्थामा पक्राउ परेका थिए । उनलाई जिल्ला प्रशासन कार्यालय झापाले रिहा गरी परिवारलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

रिहा भएलगत्तै अधिकारीले अब आफूले स्वतन्त्र जीवन बिताउन चाहेको र विप्लव समूहबाट राजीनामा पहिल्यै दिइसकेको बताउनुभयो । उहाँले विप्लव पार्टीले मे१प ६१० नंको मोटरसाइकल आफ्नो नाममा खरीद गरेको र हाल सो सवारीसाधन पार्टीले नै प्रयोग गरिरहेको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता श्रेष्ठका अनुसार विप्लव समूहमाथि प्रतिबन्ध लागेयता झापामा १६ उच्चतहका कार्यकर्ता पक्राउ परेको र पाँच जना पार्टी परित्याग गरी स्वतन्त्र जीवन बिताउने लिखित प्रतिबद्धतापश्चात रिहा भइसकेका छन् ।