Swornakshar Logo

योगेश बोल्दा बोल्दै माधव नेपाल रुन थाले, यस्तो थियो कारण

१९ साउन । काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीम योगेश भट्टराईले अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिको बैठकमा २०४३ सालमा आफू विरामी भएको प्रसंग कोट्याएर समिति सदस्य तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई रुवायका छन् ।

समितिले विषयगत मन्त्रीको रुपमा भट्टराईलाई स्वागतको लागि आयोजना गरेको बैठकमा बोल्ने क्रममा नवनियुक्त मन्त्री भट्टराईले आफू मात्र भावुक भएनन् नेता नेपाललाई रुनेसम्मको अवस्थामा पुर्याए ।

मन्त्री भट्टराईले २०४३ सालमा पार्टीले पञ्चायतलाई समेत उपयोग गर्ने नीति अनुसार काठमाडौं नगरपञ्चायतको निर्वाचनमा जनपक्षीय उम्मेदवारको पक्षमा माहोल बनाउने जिम्मेवारी पाएको र विरामी भएर ६० दिनसम्म अस्पतालमा बसेको स्मरण गर्दा नेपालको स्पर्श आफ्नो लागि जीवनदान भएको बताए ।

उनले टिचिङका डाक्टरहरुले माया मारेको अवस्थामा वरिष्ठ नेता नेपालको एक स्पर्शले जीउन उत्साह थपिएको बताए । उनले नेपाल र आफूबीच गुरु र चेलाको सम्बन्ध भएको बताएपछि नेता नेपाल पनि भावुक बनेका थिए ।

समिति बैठकमा वरिष्ठ नेताको हैसियतले मन्तव्य राख्ने क्रममा नेपालले भट्टराईलाई कुसलतापूर्वक जिम्मेवारी बहन गर्न सुझाएका थिए । नेपालले बोलेलगत्तै बोलेका मन्त्रीले नेपालप्रति श्रद्धा व्यक्त गर्दै उनलाई मार्गनिर्देशक समेत भनेका थिए ।

‘नेता नेपालको स्पर्शले मेलाई जिउने उर्जा प्राप्त भयो’ भन्नसाथ नेता नेपालले घोप्टिएर आँसु लुकाउने प्रयास गरेका थिए । त्यतिबेला मन्त्री भट्टराईको गला नै अवरुद्ध भयो ।

पूर्वप्रधानमन्त्री र नवनियुक्त मन्त्रीले भावुकतासँगै आँसु झारेपछि समिति सभापतिसमेत रहेकी एमाले नेतृ पवित्रा खरेल निरौलालाई पनि भावुक बनायो । भावुकता र सन्नाटालाई चिर्न मन्त्री भट्टराईले समिति सदस्य अग्निप्रसाद सापकोटासँगै आफू ०४६ सालमा चौतारा जेलमा बसेको बताएका थिए ।

हत्तपत्त आँसु नखसाल्ने नेता नेपालले आइबारको समिति बैठकमा आँसु झार्नुको पछि भावना जोडिएको हुनसक्छ । तत्कालीन नेकपा एमालेको महासचिव हुँदा योगेशले शक्तिशाली विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्ष हुने अवसर पाएका थिए ।

आफूले धेरै विश्वास गरेका कार्यकर्ता योगेश २०५४ सालमा तत्कालीन नेकपा एमालेबाट अलग भएर वामदेव गौतमले नेकपा माले गठन गर्दा मालेकै नेता भएका थिए ।

पार्टीको आठौ महाधिवेशनमा झलनाथ खनालसँगै लागेका योगेश हाल पार्टी अध्यक्ष केपी ओली निकट भएर मन्त्री बने पनि आफूलाई गुरु र नेता मानेकोमा नेपालको भावना पग्लिएर आँसु झारेको हुनसक्छ ।