Swornakshar Logo

प्रहरीविरुद्ध विप्लव समूहको पक्राउ पुर्जी, उपस्थित नभए जनकार्वाहीको चेतावनी

१८ साउन । काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले प्रहरीविरुद्ध ‘पक्राउ पुर्जी’ जारी गरेको छ । नेपाल कम्युनिष्ट पार्टी कैलालीले ‘जनअदालत’को नामबाट राष्ट्रिय अनुसन्धान विभागका सहायक प्रहरी निरीक्षक (असई) भैरव कुँवरको नाममा ‘पक्राउ पुर्जी’ जारी गरेको छ ।

‘नेपाल कम्युनिस्ट पार्टी कैलाली जिल्ला जनअदालतद्वारा जारी भएको १५ दिने पक्राउ पुर्जी’मा कुँवरलाई ‘२५ दिनभित्र उपस्थित हुनु’ भनिएको छ ।

पक्राउ पुर्जी जारी गर्ने ‘जनअदालत’का प्रमुखका रुपमा ‘क.विकास’ नामका व्यक्तिले हस्ताक्षर गरेका छन् ।

यस्तो पक्राउ पुर्जी कुँवरको घर आसपास तथा सार्वजनिक स्थानहरूमा टाँसिएको छ । त्यसमा लेखिएको छ, ‘कैलालीको वर्दगोरीया गाउँपालिका–१ साझा जाने बाटोमा बस्ने नवराज कुँवरको छोरा, पार्वती सापकोटा (कुँवर)का श्रीमान् प्रतिवादी नेपाल सरकारको प्रहरी, राष्ट्रिय अनुसन्धान व्युरोको असई भैरव कुँवरका नाममा २५ दिने पक्राउ पुर्जी ।’

अनुसन्धान विभागका असई कुँवरमाथि नेकपाले सुराकी, अपहरण र ज्यान मार्ने काम गरेको आरोप लगाएको छ । ‘बाटोका म्यादबाहेक २५ दिनभित्र आफैं वा पक्राउ पुर्जी बमोजिम पक्राउ परी यस अदालतमा हाजिर हुन आउनु होला’, पुर्जीमा उल्लेख छ ।

यस्तो खालको पक्राउ पुर्जी शसस्त्र द्वन्द्वका समयमा माओवादीले जारी गर्ने गर्थ्यो ।

कैलालीका नेकपा कार्यकर्ता ’तुफान’ ले असई कुँवरविरुद्ध अभियोग दर्ता गराएको र जनसरकार प्रमुख अनुकलले प्रतिवेदन बुझाएकाले सोहीका आधारमा पक्राउ पुर्जी जारी गरिएको नेकपाको दाबी छ ।

पक्राउ पुर्जीसँगै नेकपाले चेतावनी पत्र पनि टाँसेको छ । जहाँ आफैं वा पक्राउ परी आएमा जनअदालतले व्यवहार बुझेर जनअदालतको कानुनअनुसार कार्बाही गर्ने पक्राउ पुर्जीमा उल्लेख छ । अन्यथा जुनसुकै कारबाही गर्ने चेतावनी दिइएको छ ।